नेपाली ढाकाटोपीमा अमिताभ बच्चन
बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बच्चन ढाका टोपीमा देखिएका छन् ।
नेपाली ढाका टोपी लगाएर नाच्दै गरेको जस्तो देखिने तस्वीर उनले इन्स्टाग्राममा पोस्ट् गरेका छन् । हुन त अमिताभले नेपालप्रति सदासयता विभिन्न अवसरमा देख्न सकिन्छ । भूकम्पछि उनले नेपालीको पीडामा मल्हम लगाउन लामो ब्लग पनि लेखेका थिए ।
कुनैबेला नेपालका लागि भारतीय राजदूत समेत थिए अमिताभका पिता हरिवंश राय बच्चन । उनका बुबाको काठमाडौंको पोस्टिङको बेलादेखि अमिताभको नेपालप्रति विशेष लगाव रहदै आएको छ ।
अमिताभले इन्स्टाग्राममा क्याप्सनमा ‘केटीको…केटीको…’ लेखेका छन् । उनको यो क्याप्सन हेर्दा कुनै नेपाली भाषाको गीतको छायाँकनको तस्वीर जस्तो देखिन्छ । तर तस्वीरमा चाहिं अमिताभले फिल्मबारे खुलाएका छैनन् ।
उत्तराखण्डमा छायांकन भइरहेको बलिउड फिल्म ‘उचाइ’को सुटिङ सेटमा अमिताभले नेपाली ढाकाटोपी लगाएको हुनसक्ने अनुमान गरिएको छ ।
यद्यपि उनले यो कुनै गीत वा फिल्मको कुनै गीतको भिडियो भन्ने खुलाएका छैनन् ।
फिल्म ‘उचाइ’को केही महिना पहिले नेपालमै सुटिङ भएको यो फिल्मको बाँकी छायांकन नेपालीभाषी बहुल उत्तराखण्डमा छायांकन भइरहेको छ । स्वास्थ्य अवस्थाको कारण नेपाल आउन नसकेपनि उत्तराखण्डमा चाहिं अमिताभ पुगेका हुन् । सुरज वर्जत्यको निर्देशन रहेको यो फिल्ममा अनुपम खेर, बोमन इरानी लगायतको समेत अभिनय छ ।
प्रतिक्रिया