‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड’ विराटनगरमा हुने

ओजस फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा ‘फस्र्ट फ्लाएर्स फिल्म अवार्ड–०७९’ आयोजना हुने भएको छ । ०७९ को वैशाख २४ गते विराटनगरमा सम्पन्न गरिने अवार्डबारे आइतबार राजधानीमा प्रेसमिट गरी जानकारी दिइएको हो ।

मोफसलमा समेत नेपाली फिल्मको विकास, विस्तार र उन्नतिको लक्ष्य लिएर पहिलो संस्करण विराटनगरमा आयोजना गर्न लागिएको आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजबंशीले बताए । उनले भने, ‘विराटनगरजस्तो ठूलो सहरमा समेत नेपाली फिल्मको बजार उच्च छैन ।

कतिपय राष्ट्रियस्तरका कलाकारलाई समेत दर्शकले चिन्दैनन् । त्यसैले यो अवार्डले नेपाली फिल्म तथा कलाकारप्रति दर्शकको अभिरुचि बढाउने विश्वास लिएका छौ ।’
कोरियोग्राफरका रुपमा परिचित साइमनले अवार्ड कार्यक्रम निकै भब्य हुने दाबी गरे । भने,‘मैले केही वर्ष मुम्बइमा काम गरेको अनुभव र त्यहाँको साइमन फिल्मस्को डिजाइनअनुरुप भब्यताका साथ कार्यक्रम गर्ने योजना छ ।’

कार्यक्रममा प्रमुख अतिथि अभिनेता सरोज खनालले नेपाली फिल्मको विकासमा यो अवार्डले टेवा पुर्याउने विश्वास ब्यक्त गरे । उनले भने, ‘अधिकांश अवार्डहरु राजधानीमा मात्रै केन्द्रित भइरहेको पाइन्छ । तर फस्र्ट फ्लाएर फिल्म अवार्ड पहिलोचोटी नै मोफसलमा हुनु खुसीको कुरा हो । अन्य अवार्डभन्दा यो निश्चय नै विशेष हुने विश्वास छ ।’

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले विराटनगरमा अवार्ड हुन लागेको सुन्दा आफूलाई निकै खुसी लागेको बताइन् । ‘पहिलो संस्करण नै विराटनगरमा आयोजना हुन लागेको यो अवार्डले नेपाली चलचित्रको मोफसल बजार र कलाकारको मनोबल उच्च बनाउने छ भन्ने आशा मलाई छ ।’

कार्यक्रममा चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले अवार्ड कार्यक्रममा गुणस्तरीय फिल्म निर्माणमा दबाब दिनुका साथै अब्बल कलाकारिताका लागि कलाकारलाई समेत प्रोत्साहित गर्ने धारणा राखे । उनले भने,‘अवार्ड कार्यक्रम हुन नराम्रो होइन । तर अवार्डले कलाकारको मनोबल र स्वाभिमान बढाउनु पर्छ । यो अवार्ड वास्तवमै निष्पक्ष र गरिमामय हुने विश्वास लिएको छु ।

प्रेसमिटमा संचारकर्मीको जिज्ञासा मेट्दै आयोजक संस्थाका प्रमुख साइमनले अवार्ड शत प्रतिशत निष्पक्ष हुने दावी गरे । ‘हाम्रो अवार्डको जुरी को को हुनुहुन्छ भन्ने कुरा अवार्ड कार्यक्रममै बताउने छौ,’ उनले भने,‘फिल्म हेरेर जुरीले जे निर्णय गर्नुहुन्छ, त्यही नै अन्तिम निर्णय हुनेछ । आयोजकको कुनै हस्तक्षेप रहने छैन ।’ कार्यक्रममा सञ्चारकर्मी तथा फिल्म निर्देशक लक्ष्मण सुवेदी, कोरियोग्राफर कविराज गहतराज,नरेशवीर सिंहलगायतको उपस्थिति थियो ।

चलचित्रसम्बन्धी विभिन्न २१ बिधामा अवार्ड प्रदान गरिने समारोहको प्रमुख सल्लाहकारमा अनिश सिंह ठकुरी, कार्यक्रम संयोजकमा अशिमा धुतराज र सञ्जु सापकोटा,व्यवस्थापनमा विमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् । ०७६,०७७ र ०७८ चैत्र भित्र प्रदर्शन भएका फिल्महरु सहभागी हुने अवार्डको उत्कृष्ट ५ मनोनयन केही समयपछि सार्वजनिक गरिने बताइएको छ ।