आत्मसमर्पण गर्नुअघि पलले भने- ‘दर्शक र मेरो टिमसँग बसेर फिल्म हेर्ने इच्छा छ’ (भिडियो सहित)

प्रहरीसमक्ष आत्मसमर्पण गर्नुअघि एउटा भिडियो सन्देश जारी गर्दै अभिनेता पल शाहले आफू बेकसुर भएको बताएका छन् । उनले आफूलाई फसाइएको बताएका हुन् ।

भिडियो सन्देशमा घरको कमाउने आफू मात्रै भएकाले आफ्नो घर व्यवहार मिलाउनु पर्ने र स्वास्थ्य समस्या भएका कारणले प्रहरी समक्ष जान नसकेको बताएका छन् । भनेको दिन उपस्थित हुन नसकेकोप्रति उनले माफीसमेत मागेका छन् ।

प्रहरीसँग आत्मसर्मपण गर्नुअघि पलले एक भिडियो सार्वजनिक गर्दै आफ्नो इच्छा व्यक्त गरेका हुन् ।

उनले प्रहरी हिरासतमा भएपछि जे पनि हुन सक्ने भएकाले आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु २’ दर्शकको बीचमा हेर्ने इच्छा रहेको बताए । उनले पौने ३ मिनेटको भिडियो सन्देशमा आफ्नो कुरा राख्ने र आफूसँग भएको प्रमाणहरू पनि प्रहरी र अदालतसमक्ष दिने बताएका छन् ।

पलले भनेका छन्, ‘म केही दिन आफ्नै कारणले गर्दा प्रहरीसमक्ष उपस्थित हुन सकिनँ । मेरो कारणले कसैलाई गाह्रो परेको छ भने माफी माग्न चाहन्छु । कानुनलाई म पूर्ण रुपमा सघाउनेछु । मलाई यो घटनाको पहिलो दिनबाट नै फसाउने कोशिश गरिएको थियो ।’

‘सरकारसँग म एकपटक दर्शक र मेरो टिमसँग बसेर फिल्म हेर्ने इच्छा व्यक्त गर्दछु । मलाई थाहा छैन मेरो यो कुरा पूरा हुन्छ या हुँदैन । सम्भव भयो भने त्यो अवसर पनि दिनुहुनेछ भन्ने लागेको छ । सम्मानित अदालतले जे निर्णय गर्नेछ, म त्यसलाई स्वीकार गर्नेछु ।’

पीडितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको छ । त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ ।

जाहेरीमा निज शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडाभन्दा कडा कारवाही गरी कानूनबमोजिम गरी सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।