अभिनेता खगेन्द्रको डेब्यु निर्देशन रहेको ‘पानीफोटो’को प्रदर्शन मिति तय
अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहेको फिल्म ‘पानीफोटो’को प्रदर्शन मिति तय भएको छ ।
महामारीका कारण तयार भएर पनि प्रदर्शन रोकिएको फिल्म अब भदौ १० मा सार्वजनिक हुने भएको छ । टलकजंग भर्सेस टुल्के, पशुपतिप्रसाद, धनपति, जय भोले र डमरुको डण्डीबियोमा अभिनेता रुपमा देखिएका खगेन्द्रले यो पटक भने निर्देशकको पनि कमान सम्हालेका छन् ।
स्वयम् खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन् । उनले फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा–आमाको कथालाई दर्शक माँझ लिएर आउन लागेका छन् ।
यो दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै रुपान्तरण हो । फिल्ममा खगेन्द्रसंगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल , अशान्त शर्मा , मलिका महत , प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मको छायांकन काठमाडौंसँगै बर्दिया, रोल्पा र स्याङ्गजामा गरिएको हो । खगेन्द्रले नाटकलाई फिल्ममा ल्याउनु आफ्नो सपना रहेको बताएका छन् । ‘यसलाई फिल्म बनाएर धेरै दर्शकसम्म यो कथालाई पुर्याउने मेरो सपना नै थियो । मैले नाटक मन्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए’ खगेन्द्रले भने । दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ ।
यसमा पुष्पा संगमको पाश्र्व संगीत रहेको छ, भने ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँट्टी नेपाली स्वाद बोकेका सफल फिल्म निर्माण गरेको टुकी आर्ट्सले फिल्म निर्माणमा मन्जुश्री फिल्म्ससँग सहकार्य गरेको छ ।
फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहेका छन् । फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
प्रतिक्रिया