पुष्पाको रेकर्ड तोड्ने बाटोमा ‘भलीमाई’

हुमा कुरैसी र तामिल सुपर स्टार अजित कुमारको अभिनय रहेको एक्सन थ्रिलर फिल्म ‘भलीमाई’ ले भारतमा राम्रो ‌ओपनिङ गरेको छ।

यस अगाडि पुष्पाले बनाएको रेकर्डहरु यो फिल्मले तोड्ने भारतीय फिल्म समिक्षकहरुको बलिउडहंगामामा दाबी गरेका छन्। एक अर्ब ५० करोड लगानीमा बनेको यो फिल्मले प्रदर्शन अगाडि नै लगानी उठाइसकेको थियो।
पहिलो दिन ग्रस कलेक्सन एक अर्ब पार गरेको फिल्मको दोस्रो दिनको ब्यापार ६० करोड आशपाश भयो। अजितको फिल्म हिन्दीमा समेत डब गरिएको छ।

हिन्दी फिल्म निर्माण गर्दै आएका बोनी कपुर निर्माता रहेको फिल्ममा बलिउड नायिका हुमाका कारण हिन्दी भाषीमाझ समेत राम्रो ब्यापार गरिरहेको छ। यो फिल्मले एक्लै तामिलनाडु बक्स अफिसबाट मात्रै पहिलो दिन ३७ करोड १७ लाखको ब्यापार गरेको थियो। दोस्रो दिन फिल्मले तामिलनाडुमा मात्रै २४ करोड ६२ लाखको ब्यापार गरेको छ।

हिन्दी र तेलगु भाषामा समेत डब भएको यसको गति हेर्दा साढे तीन अर्बको ब्यापार गरेको पुष्पालाई जित्ने आंकलन फिल्म व्यापारका जानकारहरुको अनुमान छ।

फिल्म समिक्षकहरुले राम्रो प्रतिक्रिया दिएको यो फिल्म नेपालमा पल शाह र पुजा शर्माको ‘ म यस्तो गीत गाउँछु’ र भारतीय फिल्म गंगुबाईसँगै प्रदर्शन भइरहेको छ। नेपालमा ‘म यस्तो गीत गाउँछु’ पछि ‘भलीमाई’लाई दर्शकले रुचाएको देखिन्छ।