शिव परियार भन्छन्: ‘समग्र कलाकारकै नाक काटिएको छ’
गायक शिव परियारले पल शाहको विवादले समग्र कलाकाकै नाक काटिएको बताएका छन् ।
उनले फेसबुक स्टाटसमार्फत अभिनेता पल शाह र एक जना गायिकाको विषयमा भएको विवादित घटनाले कुनै व्यक्तिको मात्र नभएर कलाकारकै नाक काटिएको बताएका हुन् ।
गायक परियारले अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीले समग्र कलाकारकै नाक काटिएको टिप्पणी गरेका छन् । ‘घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशीले गदगद होला, एउटा पक्ष दुखाईले भत्तभति होला ।
परियारले कलाकारिता क्षेत्रमा राम्रो काम गरेर स्थापित भइसकेका कलाकारको नै यस्ता घटना आउनुले आफू दुःखी भएको बताएका छन् ।
१७ वर्षीया नाबालिग गायिकाले शाहविरुद्ध बुधबार बलात्कारको जाहेरी दिएपछि समग्र मनोरञ्जन क्षेत्र तरंगित बनेको बेला परियारबाट यो भनाइ आएको हो।
उनले कलाकारिताप्रति समाजमा भएको नकारात्मक धारणालाई यस्ता कुराले झन् धेरै पुष्टि गरेको बताएका छन् ।
कलाकारिता भन्ने गहन अर्थ बोकेको विधालाई सधैं यो समाजले नाँच्ने गाउने पेशा राम्रो हैन भनेर बुझेको स्मरण गर्दै उनले यो बुझाईलाई यो घटनाले थप पुष्टि गरेको भन्दै परियारले दुःख व्यक्त गरेका छन् । ‘खै के भनौं यस्तो सबै नभई दिएको भए हुने थियो’, दुःख पोख्दै उनले भनेका छन् ।
उनले लेखेका छन्, ‘घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशीले गदगद होला, एउटा पक्ष दुखाइले भतभती होला, तर समग्रमा भन्दा यो सारा कुराले चैँ समाजको नजरमा हाम्रो संगीत उद्योग, चलचित्र उद्योग र तपाईँ हामी समग्र कलाकारकै नाक काटिएको छ है, कलाहरुको पनि कला ललितकला त्योभित्रको पनि उत्कृष्ट कला संगीतकलाको क्षेत्रमा काम गरेर समाजमा उभिएका र कला क्षेत्र राम्रो हो भनेर समाजमा स्थापित गरेका कलाकारको यो घटना पढिरहनु पर्दा दुःख लागेको छ । ‘कलाकारिता’ भन्ने गहन अर्थ बोकेको विधालाई सधैँ यो समाजले नाँच्ने गाउने पेसा राम्रो हैन भनेर बुझेको थियो, यो बुझाइलाई यो घटनाले थप पुष्टि गरेको छ । खै के भनौँ यस्तो सबै नभइदिएको भए हुने थियो ।’
प्रतिक्रिया