वरिष्ठ लोकगायक तथा अभिनेता जयनन्द लामाप्रति अन्तिम श्रद्धाञ्जली

वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाप्रति अन्तिम श्रद्धाञ्जली दिइएको छ ।

श्रद्धाञ्जलीका लागि लामाको पार्थिव शरिरलाई बिहीबार राष्ट्रिय नाचघर जमलमा राखिएको थियो । संस्कृति पर्यटनमन्त्री प्रेम आले, अग्रज कलाकारहरु, शुभेच्छुक लगायत आफन्तहरुले लामा प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सो क्रममा पर्यटनमन्त्री आलेले मुलुकलाई चिनाउन लामाले खेलेको भुमिकाको स्मरण गरे ।

बुधबार बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै घर अगाडि गाडीबाट ओर्लिने क्रममा लडेर लामाको निधन भएको थियो । आज नै उनको पार्थिव शरीर अन्येष्टि गरिनेछ ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पामा जन्मिएका लामाले धेरै मौलिक लोकगीत गाएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय कलाकारहरुको निधनपछि श्रद्धाञ्जली सभाको लागि मन्त्रालयले स्थान व्यवस्थापन गर्ने बताएका छन् । लामाको श्रद्धाञ्जली सभामा श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री आलेले आगामी दिनमा राष्ट्रिय कलाकारहरुको निधनपछि श्रद्धाञ्जली अर्पण गर्नको निमित्त मन्त्रालयले छलफल गरेर स्थानको व्यवस्थापन गर्ने बताएक हुन् ।

उनले देशमा भएका विकृतिहरुलाई चिरेमात्रै कलाकार लामाप्रतिको सच्चा श्रद्धाञ्जली हुने पनि बताए । मन्त्री आलेले गायक तथा अभिनेता लामाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवाजनप्रति समवेदनासमेत प्रकट गरे ।

मन्त्री आलेले भने, ‘११ गते राष्ट्रिय कलाकार जयनन्द लामाको निधन भएको छ । यसप्रति संस्कृति पर्यटन मन्त्रालयको तर्फबाट र मेरो तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । देशलाई चिनाउन उहाँले जुन भुमिका खेल्नु भएको छ । यस्ता कलाकार अब देशले पाउन धेरै गाह्रो हुन सक्छ । देशमा भएका विकृतिहरुलाई चिर्दै जान सकेमात्र उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ । कलाकार भनेको राष्ट्रका गहना हुन् । आगामी दिनमा राष्ट्रिय कलाकारहरुको श्रद्धाञ्जली सभाका निमित्त व्यवस्थापनको लागि छलफल गरेर अघि बढाउनेछौँ ।’