श्रद्धाञ्जलीका लागि लोकगायक तथा कलाकार लामाको पार्थिव शरीर भोली प्रज्ञा प्रतिष्ठानमा राखिने
कलाकार जयनन्द लामाको पार्थिव शरीरलाई विहीवार राष्ट्रिय नाचघरको प्राङ्गानमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ ।
नेपाली लोक गायन र फिल्म क्षेत्रका दिग्गज कलाकार लामाको बुधवार विहान आफ्नै निवासमा निधन भएको हो । आफैंले चलाएर घर पुगेको गाडीबाट ओर्लने क्रममा शरीरको सन्तुलन बिग्रिएर लड्दा आँगनको पर्खालमा टाउको ठोक्किएर उनको निधन भएको पोष्टमार्टम रिपोर्ट आएको परिवार स्रोतले जनाएको छ ।
उनको पार्थिव शरीरलाई काठमाडौं मेडिकल कलेजमा पोष्टमार्टमपछि अहिले भक्तपुर दुवाकोटस्थित घरमा ल्याइएको छ ।
घरमा बौद्ध परम्परा अनुसार पूजा र लामापाठ पछि विहीवार विहान १० बजेदेखि राष्ट्रिय नाचघरको प्राङ्गानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने उनका भाइले जानकारी दिए । उनको विहीवार दिउँसो स्वयम्भुमा बौद्ध परम्परा अनुसार दाहसंस्कार गरिने बताइएको छ ।
मौलिक नेपाली लोक गीत संकलन र गायनमा लामाको उल्लेखनीय देन रहेको छ । उनी नेपालमा पहिलोपटक गीति एल्वम निकाल्ने कलाकार समेत रहेका । उनले माया गर्छु म नामक फिल्मको निर्माण तथा निर्देशन गरेका थिए भने छक्कापञ्जा, घामपानी लगायत एक सयभन्दा बढी फिल्म र टेलिफिल्ममा अभिनय गरेका थिए । उनले २ साता अघि मात्र आफ्नो स्वर र संकलनमा नयाँ गीतको भिडियो सार्वजनिक गरेका थिए । उनी नेपाल प्रहरीको सांस्कृतिक विभाग महेन्द्र पुलिस क्लबबाट अवकाश प्राप्त समेत रहेका थिए ।
उनको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतले समेत दुख व्यक्त गरेका छन् ।
प्रतिक्रिया