विजय रश्मिकासँगको विवाह बारे भन्छन्- ‘सदाझैँ बकवास’

दक्षिण भारतीय फिल्ममा पछिल्लो समय ‘अर्जुन रेड्डी’ अभिनेता विजय र रश्मिका अफेयरमा रहेको केही समयदेखि चर्चा चल्ने गरेको छ । दुवैले अफेयरको खबर सकारेका छैनन् तर उनीहरूको हाउभाउले यो सत्यलाई नकार्ने गरेका पनि छैनन् ।

निकै लोकप्रिय दुई कलाकार हुन्- रश्मिका मण्डना र विजय देवरकोण्डा यही वर्ष बिहे गर्ने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यममा खबर छन् । यी लोकप्रिय त थिए नै, अब यिनको विवाह समेत हुने खबर आगोझैँ फैलिएको छ।

रक्षित सेठ्ठीसँगको इंगेजमेन्ट तोडेकी रश्मिका मन्दानाको फेरि एक पटक विवाहको चर्चा सुरु भएको हो । उनीहरूको बारेमा कतिसम्म खबर फैलिएको छ भने उनीहरूले यही वर्ष नै विवाह गर्न सक्ने पनि बताइएको छ।

जताततै यही खबर फैलिएपछि विजय देवरकोण्डा आफैँ उत्रिएका छन् यसको खण्डन गर्न। उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो भनाइ राखेका छन्- ‘सदाझैँ बकवास खबर, के हामीलाई समाचारप्रति प्रेम छैन!’

यता नायका रश्मिका भर्खर २५ वर्षकी भइन्। उनले तत्काल विहेबारे आफूले नसोचेको बताएकी छिन्। उनले आफ्नो पार्टनर भने यस्तो खोजेकी छिन् जोसँग जीवन बिताउन कम्फर्टेबल महसुस होस्।

हुन त यी जोडीको ‘डियर कमरेड’ फिल्मबाटै उनीहरू सम्बन्धमा भएको लख काटिएको थियो। डियर कमरेडमा उनीहरूको केमिष्ट्री यति मन पराइयो कि फिल्म पनि सुपरहिट, जोडी पनि सुपरहिट। यस फिल्म लगत्तै उनीहरूले ‘गीता गोविन्दम’मा पनि सँगै काम गरे।