वैशाख पहिलो हप्ता काठमाडौं आउँदै सलमान खानसहित भारतीय कलाकारको टोली
बलिउड चर्चित अभिनेता सलमान खान नेपाल आउने भएका छन् । आगामी वैशाख ३ गते बलिउडका अभिनेता खानसहित भारतीय कलाकारको टोली काठमाडौं आउने भएका हुन् ।
बैशाख ३ गते रंगशालामा आयोजना हुने एक सांगीतिक कार्यक्रमका लागि ओडीसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याएर कार्यक्रम गर्न लागेको हो ।
खानलाई नेपाल ल्याउने सम्पूर्ण तयारी पुरा भएको ओडीसी इन्टरटेनमेन्टका सीमान्त गुरुङले जानकारी दिए । उनले भने, ‘सलमान ल्याउने बिषयमा हामीले सम्पूर्ण तयारी गरिसकेका छौ । यस बिषयमा अन्य जानकारी केही समयपछि दिनेछौ ।’ नेपालको सुस्ताएको पर्यटन ब्यवसाय चलायमान गराउन बलिउड कलाकार नेपाल ल्याउन लागेको गुरुङको भनाई रहेको छ ।
रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा लगायतका कलाकार ल्याउने तयारी ओडीसीको रहेको छ ।
२०७४ को फागुनमै ओडीसीले सलमान खानलाई नेपाल ल्याउने तयारी गरेको थियो। त्यतिबेला ‘दबंग: द सलमान खान लाइभ इन नेपाल’ शो आयोजना गर्ने भनिए पनि विभिन्न विवादका कारण कार्यक्रम आयोजना हुन पाएको थिएन।
उनका भाइ सोहेल खान काठमाडौं आई पत्रकार सम्मेलन गरी सलमान बस्ने होटल, कार्यक्रमस्थल, सुरक्षाको अवस्थाबारे जानकारी लिई फर्किसकेका थिए । त्यसबेला अर्धभूमिगत अवस्थामा रहेको नेत्रविक्रम चन्दको पार्टीले धम्क्याएपछि आयोजकले कार्यक्रम तत्काललाई स्थगन गरेको थियो ।
त्यसै बेलाको सम्झौताअनुसार, यसपटक सलमान खान नेपाल आउने पक्कापक्की भएको हो । एक साताअघि सलमान खानको भारतीय एजेन्सी जेए इभेन्ट्सको टोली काठमाडौं आई फर्केको थियो । सलमान खानको कार्यक्रम गर्ने संस्थाले त्यसबेला आयोजकबाट लिएको बैना रकम फिर्ता नगरी कार्यक्रम नै गर्ने सम्झौता गरेकाले यो कार्यक्रम आउने वैशाखमा हुने भएको हो । बैशाख ३ को कार्यक्रम भने रद्द नहुने गुरुङले जानकारी दिए ।
प्रतिक्रिया