हरिहर अधिकारीलाई निर्देशन गर्दै नीता ढुंगाना

नीता ढुंगाना र हरिहर अधिकारी कपल जोडीको रुपमा सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमा देखिँदै आएका छन् ।

नीता र हरिहरले ‘ह्रस्व दीर्घ’ शीर्षकमा नयाँ फिल्म बनाउने भएका छन् । फिल्ममा नीताले भने दोहोरो जिम्मेवारी निर्वाह गर्ने भएकी छन् । यी दुवै निकट स्रोतका अनुसार नीता फिल्ममा हरिहरको जोडीको रुपमा देखिनेछिन् भने फिल्मलाई निर्देशन पनि उनैले गर्ने चएकी हुन् । फिल्मका बाँकी कलाकारको छनौट हुन बाँकी रहेको बताइएको छ ।

यही महिनाको अन्त्यबाट फिल्मको सुटिङ गर्ने गरी तयारी भइरहेको छ । ज्योतिषसमेत रहेका हरिहरले यसअघि फिल्म ‘शुभ लभ’बाट अभिनयमा डेब्यु गरेका थिए । दुई वर्षअघि वीरगञ्जको एक महोत्सवबाट नजिकिएका हरिहर र नीताले यसअघि टेलिभिजन सो र एउटा म्युजिक भिडियोमा सहकार्य गरेका छन् ।

हरिहरले सञ्चालन गर्ने हरिहर सो र उनकै अभिनय रहेको एक शिवस्तोत्र ‘जय जय नीलकण्ठ’ नीताले नै निर्देशन गरेकी थिइन् । नीता र हरिहरले गीतामाथि पनि फिल्म बनाउने घोषणा गरेका थिए । तर त्यो प्रोजेक्ट थाँती राख्दै दुवैले रोमान्टिक फिल्ममा काम गर्न लागेका हुन् ।