संगीतकार खड्काकाे सापकाेटालाई चुनाैती- चाेरी भएकाे प्रमाणित गरेर देखाउनुहाेस्, नत्र मानहानीकाे मुद्दा दायर गर्छु


संगीतकार महेश खड्काले संगीत चोरेको भनेर लगाएकाे आरोप निराधार रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संगीतकार खड्काले चर्चामा आउनका लागि संगीतकार वसन्त सापकोटाले आफूमाथि संगीत चोरीको आरोप लगाएको दाबी गरेका हुन् ।

कार्यक्रममा बोल्दै खड्काले कानुनी रुपमा आरोप प्रमाणित गरेर देखाए आफू सजाय भोग्न तयार रहेको बताएका छन् । उनले आरोप प्रमाणित गर्न नसके मानहानीको मुद्दा दायर गर्न सक्ने समेत बताए ।

उनले बौद्धिक सम्पतिको चोरीको विषयमा कानुनी उपचार खोज्ने धेरै कानुनी उपाय छाडेर संगीतकार सापकोटाले मिडियाबाजी गरेर आफ्नो प्रतिष्ठामा आँच पुर्याएकाे आरोप लगाउनु लगाए। संगीतकार सापकोटाले आफूले संगीत भरेको नेपाली फिल्म ‘सिलसिला’को ‘सागरसरी चाेखाे माया’ भन्ने गीतको धेरै अंश चोरी भएको एक सार्वजनिक कार्यक्रममा आरोप लगाएपछि संगीतकार खड्काले प्रमाणित गरेर देखाउन चुनौती दिएका हुन् ।

गायक प्रमोद खरेल र बाल गायिका रुक्साना लिम्बुले गाएको ‘नोगेन’ बोलको गीतको संगीत केही अंश चोरेको आरोप अर्का संगीतकार वसन्त सापकोटाले लगाएका थिए ।

खड्काले भने, ‘कि चोरेको हो, मिलेको हो भनेर आरोप प्रमाणित गरेर देखाउनुपर्छ । नत्र म कानुनी उपचारमा जान्छु । मेरो मानहानी भएको छ । मैले ३० वर्ष लगाएर यो क्षेत्रमा कमाएको ख्यातिको अपमान भएको छ ।’

खड्काले भने, ‘कुनै गीतमा दुई नोट मिल्यो भन्दैमा अर्कालाई चोर भन्ने, त्यो खालको आरोप प्रत्यारोप गर्नै हो भने संगीत गर्छु भनेर कोही अगाडि नबढे हुन्छ,’ उनले भने, ‘यो कुराले घात त अब वसन्त भाइ स्वयंलाई गर्छ । उहाँका पनि केही कृतिहरु होलान् जहाँ दुई नोट, चार नोट मिलेका होलान् । त्यो निस्किए भने के हुन्छ ? उहाँले अरुलाई के भन्नुहुन्छ ?’

पछिल्लो समय नेपाली गीत संगीत र शब्द चोरीको आरोप प्रत्यारोपको सिलसिला चलेको छ ।

संसारभर भएका ताल, सुर र रागबाटै संगीत सिर्जना हुने र त्यसलाई आफ्नो प्रकारले ढालेर गीत–संगीत तयार गरिने खड्काले बताए । एकले अर्कालाई आरोप लगाउने हो भने नेपाली संगीत क्षेत्र अघि नबढ्ने उनको भनाइ छ ।

केही दिनअघि गायिका रचना रिमालले अन्जु पन्तले गाएको गीत ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ गाएपछि गायिका रिमाल विवादमा आएकी थिइन् । यस्तै गायक दुर्गेश थापा ‘पैसा’ नामको गीतमा प्रयोग भएको शब्दको कारण निकै आलोचित बन्नुपरेको थियो ।

यता सार्वजनिक आरोप प्रत्यारोपमा उत्रिएका दुवै संगीतकार महेश खड्का र बसन्त सापकोटा आफ्नो प्रतिलिपि अधिकारको लागि कानुनी उपचारमा भने गएका छैनन् ।