प्रदर्शन मिति जुधेपछि ‘लप्पन छप्पन २’ टिमको विरोध
फिल्म ‘लप्पन छप्पन २’ टिमले नेपाल चलचित्र संघको निर्णयप्रति घोर आपत्ति जनाएको छ । आफ्नो फिल्म प्रदर्शन हुने मितिमा फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति जुधाएपछि निर्माण टिमले आपत्ति जनाएको हो ।
फिल्म ‘लप्पन छप्पन २’ टिमबाट निर्माता निर्मलकुमार मिश्रले संघप्रति ध्यानाकर्षण पत्र निकाल्दै संघले पूर्वाग्राही रुपमा जानकारी नगराई आफ्नो फिल्म प्रदर्शन हुने मिति ‘म यस्तो गीत गाउछुँ २’ लाई दिएको आरोप लगाएका छन् ।
चलचित्र संघले सबैभन्दा पहिला संघमा निवेदन दिएर मिति बुक गर्ने फिल्मलाई प्रदर्शनको अनुमति दिने बताएको थियो । जुन नियम आगामी वैशाख १ गतेसम्म लागू हुनेछ । तर, संघले आफ्नै निर्णय लत्याउँदै पहिला नै संघमा निवेदन दिएर प्रदर्शन मिति बुक गरेका फिल्ममाथि अर्को फिल्म जुधाउने निर्णय गरेको छ । संघले फागुन १३ गते फिल्म ‘लप्पन छप्पन २’ सँग फिल्म ‘म यस्तो गीत गाउँछु २’ जुधाउने निर्णय गरेको छ ।
‘लप्पन छप्पन २’ यसअघि नै फागुन १३ गतेलाई प्रदर्शन मिति तय गरिसकेको थियो । तर सोही मितिमा नेपाल चलचित्र संघले ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन गर्ने अनुमति दिएसँगै यो विवाद उठेको हो ।
कोरोना माहामारीको दोस्रो लहरपछि फिल्म हल खोल्ने अनुमति दिएसँगै फिल्म प्रदर्शन सम्बन्धि संघले ६ बुँदे निर्णय सार्वजनिक गरेको थियो । जसमा एउटै मितिमा नेपाली फिल्म जुधाउन नपाइने नियम छ ।
यस्तै एकै मितिमा दुई नेपाली फिल्म जुधाउने निर्णयको अहिले विरोध भइरहेको छ ।
यसैबीच, ‘लप्पन छप्पन २’ को निर्माण कम्पनी गोल्डेन हिल्स पिक्चरले बिहीवार एक विज्ञप्ति जारी गर्दै फागुन १३ गते ‘म यस्तो गीत गाउँछु २’ लाई प्रदर्शन गर्न दिने चलचित्र संघको निर्णयप्रति आपत्ति जनाएको छ । निर्माता निर्मल कुमार मिश्रद्वारा हस्तारक्षित विज्ञप्तिमा गत पुष १९ गते चलचित्र संघमा निवेदन दिएर (दर्ता नं. ३५१) फिल्मको प्रदर्शन मिति दर्ता गरेको उल्लेख गरिएको छ ।
उक्त पत्रमा लेखिएको छ, ‘मेरो चलचित्र ‘लप्पन छप्पन २’को २०७८ फाल्गुन १३ गते रिलिज डेट लकडाउनभन्दा अगावै नै सार्वजनिक गरिसकेको थियो। हाल आएर हाम्रो चलचित्र रिलिज मितिमा ‘म यस्तो गीत गाउँछु २’लाई पूर्वाग्राही रुपमा हामीलाई जानकारी नगराइकनै उक्त रिलिज मिति ‘म यस्तो गीत गाउँछु २’लाई दिइएकोमा हाम्रो गम्भीर आपत्ति रहेको छ।’
मिश्रले आफ्नो चलचित्रले प्रदर्शनका लागि सबै प्रक्रिया पूरा गरिसकेकाले फिल्म रिलिज गर्न अनुमति दिनसमेत अनुरोध गरेका छन्।
प्रतिक्रिया