‘म यस्तो गीत गाउँछु २’ शिवरात्रीको छेको पारेर प्रदर्शन हुने
फिल्म ‘म यस्तो गीत गाउँछु २’ शिवरात्रीको छेको पारेर फागुन १३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
सुदर्शन थापा निर्देशित फिल्म कोरोना संक्रमणको तेस्रो लहरका कारण यसअघि माघ १९ का प्रदर्शन मिति तय गरेको थियो तर सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि प्रदर्शन हुन पाएको थिएन ।
मंगलवार नेपाल चलचित्र संघमा बसेको चलचित्र निर्माता संघका तर्फबाट उदय सुब्बा र चलचित्र संघका तर्फबाट अशोक शर्मा नेतृत्वको कार्यदलले फिल्मलाई फागुन १३ गते प्रदर्शन गर्ने निर्णय गरेको हो ।
यसअघि २०७६ सालको फागुन २३ गते फिल्मले पहिलो पटक प्रदर्शन मिति घोषणा गरेको थियो । सोही मितिमा बलिउड फिल्म ‘बागी ३’ आउने भएपछि फिल्मले फागुन ३० गतेलाई प्रदर्शन मिति तोक्यो । तर, प्रदर्शनको संघारमा कोरोना संक्रमण फैलिएपछि अनिश्चितकालका लागि रोकिएको फिल्मको प्रदर्शन दोस्रो चरणको बन्दाबन्दी अन्त्यपछि माघ १९ गतेलाई घोषणा गरिएको थियो ।
तर, पुनः कोरोना संक्रमण फैलिएको भन्दै सरकारले माघ ३ गतेबाट हल बन्द गर्ने निर्णय गरेपछि फिल्म फेरि प्रदर्शन हुन पाएन । फागुन १ गतेबाट हलहरु खुल्ने भएपछि ‘म यस्तो गीत गाउँछु २’ लाई फागुन १३ गते प्रदर्शन गरिने भएको छ । तर, फिल्म ‘लप्पन छप्पन २’ले केही समयअघि नै सोही मितिमा प्रदर्शनको मिति घोषणा गरिसकेको छ । यहि मितिमा फिल्म ‘लप्पन छप्पन २’ पनि प्रदर्शनमा आउने तयारीमा छ ।
सरकारले फागुन १ गतेदेखि सिनेमा हल खोल्न अनुमति दिएसँगै फिल्म निर्माताहरुले प्रदर्शनमिति भटाभट तोक्न थालेका छन् । फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रतिक्रिया