अभागी बनेको फिल्म ‘चपलीहाइट ३’ पुनः दोस्रो मौका लिएर प्रदर्शन हुने

फागुन १ गतेदेखि फिल्म ‘चपली हाइट ३’ पुनः प्रदर्शनमा आउने भएको छ । निर्माता अर्जुनकुमारले मंगलबार एक विज्ञप्ति जारी गर्दै फागुन १ देखि हलमा लाग्ने जनाऊ दिएका छन् ।

प्रदर्शन हुँदाहुँदै हलहरू बन्द गर्ने निर्णयका कारण स्थगित भएको थियो । लामो गलफत्तीपछि  पुस ३० मा प्रदर्शन भएको ‘चपली हाइट ३’ हलमा दुई दिन के चलेको थियो तेस्रो दिनदेखि सरकारले हल नै बन्द गर्ने निर्णय गर्यो । कोभिड -१९को तेस्रो लहर ओम्रिकोन संक्रमित संख्या ह्वात्तै बढेपछि सरकारले भिडभाड हुने ठाउँसँगै सिनेमा हल पनि बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारको यो निर्णयको चोट बोक्ने अभागी फिल्म रह्यो ‘चपली हाइट ३’ । पुस २ हुँदै १५ मा पुगेर ३० गतेका दिन प्रदर्शनमा आएको यो फिल्मले दर्शकको मुख राम्ररी देख्नै पाएन ।

अहिले सरकारले फागुन १ बाट हल खोल्ने निर्णय गरेसँगै यो फिल्म पुनः हलमा लाग्ने भएको छ । फिल्म ‘चपली हाइट ३’ यही फागुनबाट पुनः हलहरूमा लाग्ने भएको निर्माता अर्जुनकुमारले मंगलबार एउटा विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएका हुन् ।

निर्माता अर्जुन कुमारद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “आगामी फागुन १ गतेदेखि फिल्म ‘चपली हाइट ३’ पुनः प्रदर्शन हुने जानकारी गराउँदछौँ र यो मैले दोस्रो मौका पाएको छु । सम्पूर्ण प्रशंसक, मिडियाका साथीहरू तथा शुभ चिन्तकहरूमा सहयोगको अपेक्षा गर्दछु ।”

फागुन १ देखि नै यसको दुई हप्ता अघि प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ पनि प्रदर्शन हुनेछ । थ्रिलर विधाको ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का,  सुपुष्पा भट्, अर्पना थापा र महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ । फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।