रहेनन् महाभारतका ‘भीम’ प्रवीणकुमार

पौराणिक टेलिश्रृखंला ‘महाभारत’ का भीम अर्थात प्रवीण कुमार सोबतीको ७४ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण प्रवीणको सोमवार राति उनकाे निधन भएकाे हो।

बीआर चोपडाको चर्चित टिभी सिरियल महाभारत धारवाहिकबाहेक उनले अन्य थुप्रै धारावाहिक र बलिउड फिल्ममा पनि अभिनय गरेका थिए ।

प्रवीणले सन् १९८१ मा फिल्म ‘रक्षा’ बाट अभिनयमा डेब्यु गरेका थिए। तर, ‘महाभारत’ मा भीमको भूमिका निभाएपछि उनलाई पहिचान मिलेको हो।

उनले टेलीसिरियलका साथै ५० भन्दा बढी बलिउड फिल्ममा समेत काम गरिसकेका छन्। उनी खासगरि फिल्ममा भिलेनको भूमिकामा देखिन्थे।

प्रवीण कलाकारका साथैखेलाडी पनि हुन्। प्रवीणले एसियाली खेलमा २ स्वर्ण, १ रजत र १ कास्य जितेका थिए। साथै उनले १९६८ को ओलम्पिक खेलमा समेत भारतको प्रतिनिधित्व गरेका थिए। खेलकुदमा गरेको योगदानका लागि उनलाई सन् १९६७ मा अर्जुन पुरस्कार प्रदान गरिएको थियो ।

खेलकुदमा समेत नाम कमाएका प्रवीणले एशियन गेम र ओलम्पिकमा पनि प्रदर्शन गरेर लोकप्रिय भएका थिए । प्रवीण लामो समयदेखि बिरामी थिए भने काम नपाउँदा आर्थिक समस्याबाट समेत गुज्रिरहेका थिए ।

उनी अन्तिम पटक २०१३ मा रिलिज भएको ‘महाभारत और बारबारीक’ मा देखिएका थिए।