‘चिसो मान्छे’को प्रदर्शनकै दिन चुनाव, फिल्म प्रदर्शन होला कि नहोला ?
नेपाल आउने विदेशी फिल्मले नेपाली निर्माताको सातो लिने गरेका छन् । विदेशी फिल्मलाई छक्याउँदै निर्माताले आफ्नो फिल्मको मिति सार्वजनिक गर्ने गरेका छन् । तर वैशाखमा फिल्म प्रदर्शन गर्न तम्सेका निर्मातालाई सोमबारबाट अर्को तनाव थपिएको छ ।
सरकारले स्थानीय निकायको चुनाव घोषणा गरेपछि वैशाखलाई प्रदर्शन मिति घोषणा गरेका निर्माता तनावमा परेका छन् । स्थानीय निकायको चुनाव घोषणा गरेकै दिन दीपेन्द्र के खनालले धेरै पहिला ‘चिसो मान्छे’को प्रदर्शन मिति घोषणा गरेका थिए ।
यही मितिमा चुनाव हुने भएपछि दीपेन्द्र के खनालले फिल्मको मिति सार्नुको विकल्प नरहेको बताएका छन् । उनले वैशाख अगाडि खाली ठाउँ नरहेकाले पछि सर्ने बताए । ‘मेरो फिल्म त तयार छ । चित्त बुझ्दो मिति पाए अगाडि नै पनि प्रदर्शन गर्न तयार छु तर मैले थाहा पाएसम्म अगाडि त्यस्तो कुनै मिति बाँकी छैन,’ उनले मेरो फिल्मसँग भने, ‘अब पछाडि नै जानुपर्छ होला तर कहाँ जाने दिउँसो वितरकसँग सल्लाह गर्छु ।’
‘चिसो मान्छे’को ठीक एक हप्ताअघि दुई नेपाली फिल्मले प्रदर्शन मिति घोषणा गरेका थिए ,‘लक्का जवान’ र ‘कबड्डी ४’ । स्थानीय निकायको चुनावले यी दुई फिल्मको प्रदर्शन मिति पनि प्रभावित हुने निश्चित छ ।
प्रतिक्रिया