गोल्डेन बर्ष मानउदै करिश्मा मानन्धर

नायिका करिश्मा मानन्धरको आज जन्मदिन परेको छ । १९७२ फेब्रुअरी ४ तारिखका दिन जन्मिएकी उनी आज आफ्नो ५० औँ जन्मदिन (गोल्डेन बर्ष) मनाउँदै छिन् ।

सदाबहार नायिकाको रूपमा दर्शकको मनमा बस्न सफल करिश्माले २०४२ सालमा निर्माण भएको फिल्म ‘सन्तान’बाट अभिनय यात्रा सुरु गरेकी हुन्। त्यसबेला उनी १६ वर्षकी मात्र थिइन् ।

करिश्मालाई नेपाली फिल्म क्षेत्रमा सदाबहार नायिकाको रूपमा चिन्ने गरिन्छ । जन्मदिनलाई नेपाली फिल्म क्षेत्रका केही अभिनेत्री आफ्नो जन्मदिन भव्य रुपमा मनाउँदै आएका छन् । उनी भने जन्मदिन खासै मनाउने नगरेको बताउँछिन् ।

फिल्म क्षेत्रमा साढे तीन दशक बिताउँदा पनि करिश्माको लोकप्रियतामा कुनै कमी आएको छैन । उनले खेलेका दर्जनौं फिल्म सुपरहिट भएका छन् । फिल्म खेल्दाखेल्दै निर्माणमा समेत हात हालेकी करिश्मा १० वर्ष अमेरिका भासिइन् । आफूले बनाएको ‘जिद्दी’ र ‘बाबुसाहेब’ फिल्म फ्लप भएपछि उनी विरक्त हुँदै अमेरिका गएकी हुन् । अमेरिका १० वर्ष बसेर फर्केपछि उनले फेरि अभिनय र केही समय राजनीतिमा समेत होमिएकी करिश्मा कहिले राजनीति, त कहिले अध्ययन कारणले बेला बेलामा चर्चामा छाउने गरेकी छिन् ।

अहिले भने करिश्मा राजनीतिबाट टाढा रहेकीछिन् । पछिल्लो समय व्यवसायमा समेत आवद्ध उनले आफ्नो जीवनको विभिन्न पाटाहरु समेटेर ‘आत्मकथा’ ल्याउन लागेकी छन् । आउँदो नयाँ वर्षभित्र आत्मकथा ल्याउने उनको योजना रहेको छ ।

उनले अभिनय गरेका कस्तुरी, ट्रक ड्राइभर, भाउजु, एक नम्बरको पाखे, जिन्दगी, बसन्ती, ढुकढुकी’ जस्ता एकसेएक सुपरहिट फिल्म छन् । उनी केही अगाडि बन्द भएको कमेडी रियालिटी शो ‘मुन्द्रे कमेडी क्लब’ मा अध्यक्षको रुपमा समेत रहेकी थिइन् ।