एक नम्बर हिरोलाई दर्शकको खडेरी !
कुनै समय एक नम्बर हिरोमा रहेका आर्यन सिग्देल यो स्थानबाट झरेर अहिले कहाँ हो कहाँ पुगेका छन् ।
चल्तीका हिरोको कुरा गर्दा आर्यनको नाम नै आउन छाडिसक्यो । उनले अभिनय गरेका फिल्म एक पछि अर्को गरी बक्स अफिसमा चित् खान थालेपछि पहिले कुनै समय उनको डेटका लागि महिनौँ कुर्ने निर्माता पन्छिन थालेका छन् ।
कोरोना महामारीले फिल्मको सुटिङ सुस्त रहेका बेला थुप्रै नायक नायिका म्युजिक भिडियो खेलेर गुजारा गरिरहेका छन् । हुन त म्युजिक भिडियोमा खासै खोजी नगरिने राजेश हमाल र भुवन केसीसमेत म्युजिक भिडियोमा व्यस्त हुन थाली सकेका छन् । त्यस माथी झन् आर्यन त अझै पनि चकलेटी नै छन् ।
रोमान्टिक गीतका लागि अझ पनि आर्यन सुहाउँदा छनोट हुन् । धेरै म्युजिक भिडियो निर्देशकले आर्यनलाई यही सोचेर म्युजिक भिडियोमा लिने गरेका छन् । तर फिल्म छान्न आर्यनले गर्ने गरेको गल्ती यता पनि दोहोरिएर हो वा आर्यनप्रति दर्शकको रुचि घटेरै हो, म्युजिक भिडियोमा पनि उनले दर्शक पाउन सकेका छैनन् ।
बडा तामझामका साथ दोस्रो लकडाउन पछि आर्यनले ‘जब’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको थियो । तर यस गीतलाई दर्शकले हेर्ने कष्टै गरेनन् । ५ महिनामा भइसक्दा पनि यो गीतले एक लाख भ्युज कटाउन सकेको छैन । २०२१ अगस्ट ५मा अपलोड गरिएको यो भिडियोमा अहिले सम्म जम्मा ९४ हजार ५ भ्युज पाएको छ । जब कि यो भिडियोका हुनसम्म प्रचार भएको थियो । २ लाख आर्यनका फेसबुकमै छन् ।
हालसालै पनि आर्यनका दुई म्युजिक भिडियो सार्वजनिक भएका छन् । तर दुवैमा दर्शक छैनन् । ‘स्वतन्त्र मन’ बोलको यो गीतमा त अझ उदित नारायणको स्वर थियो । वर्षा राउतसमेत रहेको यो गीत कुलेखानीमा निकै खर्च गरेर छायाँकंन गरिएको छ । तर यो गीतले १६ दिनमा जम्मा २५ हजार ५ सय २६ दर्शक पाएको छ ।
यसैगरी अघिल्लो हप्ता मात्र ‘करोडौँ’मा बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । फेसबुकमा जताततै स्पोन्सर्ड देखिने यो गीत खिच्न पनि राम्रै खर्च गरिएको छ । तर हप्ता दिन हुन लाग्दा गीतले ४५ हजार भ्युजको आँकडा पनि छुन सकेको छैन ।
त्यसो त म्युजिक भिडियो चल्नलाई कलाकारभन्दा पनि गीतै राम्रो हुनुपर्छ भन्ने मान्यता छ । अडियो राम्रो भएका गीत चलेका कलाकार नहुँदा पनि लाखौँले हेरेका छन् । त्यसैले म्युजिक भिडियो नचल्दैमा आर्यनलाई मात्र दोष दिन त मिल्दैन तर चौतर्फी क्रेज घटेको हल्ला चलिरहँदा आर्यनले दर्शक नपाउने म्युजिक भिडियो गर्दा झन् यो हल्लालाई बल पुगेको छ । आर्यनले म्युजिक भिडियो नै गर्ने भए अडियो बलियो छानेर गरे, यो आरोपबाट मुक्ति मिल्थ्यो कि ?
प्रतिक्रिया