राजेश हमालको ‘सोलो भ्वाइस’ नयाँ गीत रेकर्ड

अभिनेता राजेश हमाल पछिल्लो समय गायनमा पनि लम्किन थालेका छन् । तीन महिनाअघि पहिलो पटक ‘मन बुढो भएन’ बोलको गीत गराएका हमालले फेरि अर्को गीत गाएका छन् ।

हमालले ‘गाउँले ठिटो’ बोलको नयाँ गीत रेकर्ड गराएका हुन् । हमालले गाएको नयाँ गीतमा गोविन्द भट्टको शब्द र सन्तोष श्रेष्ठको संगीत छ । गीतमा गोपाल रसाइलीले एरेञ्ज रहेको छ ।

संगीतकार सन्तोषले आफ्नो दोस्रो गीतका लागि निकै मिहिनेत गरेको बताए । ‘सिधै स्टुडियोमा छिर्नुभएको होइन, धेरैपटक अभ्यास गर्नुभएको छ’, सन्तोषले भने, ‘पहिलो दुई पटक हार्मुनियममा बसेर अभ्यास गर्नुभयोको हो । त्यसपछि फेरि एरेन्ज भएपछि पनि अभ्यास गर्नुभयो ।’ उनका अनुसार गीतमा राजेश हमालको ‘सोलो भ्वाइस’ हुनेछ ।

संगीतकार सन्तोषले अभिनेता हमालले आफूलाई ग्रामीण भेगका दर्शकले नै हेर्दै आएको हुनाले त्यही भेगका दर्शकलाई पनि मनपर्ने गीत गाएको बताए । उनका अनुसार गीत रमाइलोसँगै सन्देशमूलक छ । विदेशमा गएकालाई नेपालमै राम्रो छ, विदेश गएका फर्किउन्, यहाँका विदेश नजाउन् र गएर आएकाहरू फेरि नफर्किउन् भन्ने खालको सन्देश गीतले बोकोको संगीतकार सन्तोषले बताए ।

ग्रामीण परिवेश आउने खालको गीत र भिडियो गर्ने राजेशको सोचअनुसार सहकार्य भएको श्रेष्ठले बताए । गीतको भिडियोको एक साताभित्रै छायांकन हुने बताइएको छ । देवेन्द्र पाण्डेको निर्देशनमा ग्रामीण परिवेशमा तयार हुने भिडियोमा राजेश नै मुख्य भूमिकामा देखिनेछन् ।