वर्षाको प्रश्न- कलाकारको व्यक्त्तिगत जीवन सार्वजनिक गर्दिन भन्न पाउँदैनन् र ?

अभिनेत्री वर्षा सिवाकोटीले सञ्चार माध्यमप्रति गुनासो गरेकी छिन् ।

प्रेम र ब्रेकअपको खबरले चर्चामा आइरहने वर्षा आफ्नो व्यक्तिगत कुरा सार्वजनिक गर्न कलाकारले पाउँदैन र ? भनेर प्रश्न गर्छिन् । शुक्रबार साँझ आफ्नो फेसबुक पेजमा एउटा स्टाटस लेख्दै सिवाकोटीले उक्त जिज्ञासासहितको गुनासो गरेकी हुन् ।

पछिल्लो समय आफ्ना व्यक्तिगत जीवनका बारेमा समेत समाचार बन्न थालेपछि उनले स्टाटसमार्फत गुनासो गरेकी हुन् ।

अभिनेत्री सिवाकोटीले आफ्नो स्टाटसमा लेखेकी छिन् – ‘पर्दाको चमक धमकपुर्ण जीवनभन्दा अलि पर एउटा सार्वजनिक व्यक्तिको नितान्त व्यक्तिगत जीवन पनि हुन्छ ।’

‘तर सार्वजनिक व्यक्तित्वको ट्यागमा उसको सबैकुरा सार्वजनिक ठानिन्छ र उसलाई मिडियाका नाममा निर्मम तरिकाले प्रहार गरिन्छ, अभिनेत्री सिवाकोटीको भनाइ छ- ‘मानविय संवेदना सकिएको छैन भने यस्ता कुरालाई मनन गरौं र सच्याउँ ।’

‘एउटा कलाकारको जीवनमा पनि सुख दुख, उतार चढाव र आरोह अवरोह प्रसस्त हुन्छन्, उनले भनेकी छिन् – ‘पर्दा बाहिर निस्कने बित्तिकै यथार्थको भोगाईमा उसले जीवन बाँच्न अभिशप्त हुन्छ भन्ने कुरा सबैले बुझ्नपर्छ ।’

‘केहि व्यक्तिगत कुरा म सार्वजनिक गर्न चाहन्न, गोप्य नै राख्छु भन्ने अधिकार एउटा कलाकार वा सार्वजनिक व्यक्तिले पाउँदैन र ?’ उनको प्रश्नसहितको आग्रह छ- ‘व्यक्तिको आत्म-सम्मानमा ठेस पुग्ने गरि वा चित्त दुख्ने गरि सामाग्री बनाउँदा त्यो व्यक्तिलाई त्यसले कति असर गर्ला भनेर बेलैमा सोचौं । मनोरन्जनको नाममा मानिसको संवेदनाको ब्यापार बन्द गरौं, मेरो अनुरोध ।’