दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा अभिनेत्री स्वस्तिमा खड्काको ‘आइटम डान्स’ यस्तो छ

अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को आइटम गीत सार्वजनिक भएको छ।

मलयालम भाषामा बनेको यो फिल्मको हिन्दी गीत शनिबार सार्वजनिक भएसँगै स्वस्तिमाले आइटम नृत्य गरेपछि यो फिल्मलाई लिएर नेपाली दर्शक पनि उत्साहित छन् । ‘रंग विरंगी रात फिरंगी’ बोलको गीतमा स्वस्तिमाको आइटमले दर्शकको मन जितिरहेको छ ।

नेपालमा समेत सुटिङ भएको मलयालम फिल्ममा नेपाली अभिनेत्री स्वस्तिमा खड्काको पनि अभिनय रहने कुराले स्वस्तिमाका फ्यान दंग थिए । केही दिनअघि फिल्मको ट्रेलरमा स्वस्तिमालाई दुई सट देख्दा मात्र पनि स्वस्तिमाले दक्षिण भारतमा नेपालको नाम चम्काउन लागेको भन्दै फ्यानले प्रशंसा गरेका छन् ।

मूल रूपमा मलयालम भाषामा बनेको यो फिल्म हिन्दी, तेलेगू र तामिल भाषामा पनि सार्वजनिक हुनेछ।

मलयालम भाषामा निर्माण गरिएतापनि यो गीत भने हिन्दी भाषामा तयार पारिएको छ ।  ‘रंग-बिरंगी’ बोलको गीतमा बिजीपालको संगीत, तनिष्क नम्बरको शब्द रहेको गीतमा सुनिधि चौहानको स्वर छ । स्वस्तिमा भारतीय आइटम गीतको शैलीमा नाचेकी छन्।

फिल्ममा मलयालम फिल्म उद्योगका चर्चित अभिनेता बिबिन जर्ज मुख्य भूमिकामा छन्। त्यस्तै जोनी एन्टोनी र धर्मजान बोलगट्टी पनि यसका प्रमुख पात्र हुन्। यसमा जेभियर एलेक्स र राजीव शेट्टीको लेखन रहेको छ ।

नेपालका थुप्रै ठाउँका दृश्यहरू ट्रेलरमा देख्न सकिन्छ। जसमा काठमाडौं, पोखरा र लुक्लाका धेरै दृश्य देखिन्छ। कमेडी जनरामा बनेको यो फिल्म सन् २०२२ मा रिलिज हुने भनिएको छ।