जोन अब्राहमको पारिश्रमिक तीन वर्षमा ३ गुणा वृद्धि

बलिउड अभिनेता जोन अब्राहमले फिल्म ‘एक भिलेन रिर्टन्स’का लागि २१ करोड भारु पारिश्रमिक पाएका छन् । जोनको पछिल्लो फिल्म ‘सत्यमेव जयते २’ बक्स अफिसमा असफल भएपनि उनको पारिश्रमिक भने बढिरहेको छ ।

जोनले ‘सत्यमेव जयते’ र ‘बाटला हाउस’को सफलतापछि अभिनेता अब्रहामले आफ्नो पारिश्रमिक बढाइरहेका हुन् ।

फिल्म ‘पठान’का लागि २० करोड पारिश्रमिक लिएका उनले त्यसको एक महिनालगत्तै ‘एक भिलेन रिर्टन्स’मा २१ करोड पारिश्रमिकमा सम्झौता गरेका छन् ।

एक स्रोतलाई उद्धृत गर्दै बलिउड हंगामाले लेखेको छ, “उनको बजार भाउ उकालो चढिरहेको छ । बाटला हाउसमा पाएको पारिश्रमिक सत्यमेव जयते भन्दा बढी थियो । एसएमजी २ मा पाएको पारिश्रमिक बाटला हाउस भन्दा बढी थियो । पठानका लागि पाएको पारिश्रमिक एसएमजी २ भन्दा बढी थियो । अन्तत: एक भिलेन रिर्टन्सको पारिश्रमिक पठानको भन्दा बढी छ । पछिल्लो ३ वर्षयता जोनको अभिनयको पारिश्रमिक ७ करोड बाट २१ करोड पुगेको छ ।”

यस अर्थमा पछिल्लो तीन वर्षमा कोरोना महामारीका बाबजुद पनि उनको पारिश्रमिक तीन गुणाले वृद्धि भएको छ ।

यशराज ब्यानरको निर्माणमा बनेको फिल्म ‘पठान’का लागि जोनले २० करोड भारु पारिश्रमिक बुझेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिँदैछन् । यस फिल्ममा अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका छ ।

‘एक भिलेन रिर्टन्स’ २०२२ जुलाई बकर ईदको मौका छोपेर रिलिज गर्ने तयारी रहेको छ । फिल्ममा जोन अब्राहमका साथै, अर्जुन कपुर, दिशा पटानी र तारा सुतारिया मुख्य भूमिकामा छन् । मोहन सुरीको निर्देशन रहेको फिल्म ‘एक भिलेन’ को सिक्वेल हो । छायांकन सकेर फिल्म यतिबेला पोस्टप्रोडक्सनको काममा छ । यसै फिल्मका लागि जोनले २१ करोड पारिश्रमिक बुझेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।