तामिल फिल्म ‘जय भिम’ अस्करको युट्युब च्यानलमा
सत्य घटना प्रेरित तमिल फिल्म ‘जय भिम’ले अस्करको युट्युब च्यानलमा स्थान पाएको छ । फिल्म सन् १९९३ मा घटेको एक घटनामा आधारित एउटा सिन र निर्देशकको छोटो भनाइलाई अस्करको युट्युब च्यानलले स्थान दिएको हो ।
यो फिल्मले केही समयअघि हलिउडको गोल्डेन ग्लोबमा पनि प्रवेश पाएको थियो ।
यस फिल्मले दर्शक तथा समीक्षकबाट प्रशस्त तारिफ पाएको भए पनि केही विवादमा परेको थियो । यो फिल्मका केही दृश्यबारे वन्नियार समुदायले आपत्ति जनाएका थिए। यसअघि पनि यो फिल्मको एक सिनका कारण निकै ठूलो विवाद भएको थियो ।
त्यसका बाबजुद फिल्मले दलितको मुद्दालाई सतहमा ल्याएको भन्दै अधिकांशले यसको प्रशंसा गरेका थिए । यो फिल्म व्यापारिक रुपमा पनि निकै सफल मानिएको हो ।
टिजे ग्नानाभेलको निर्देशनमा बनेको ‘जय भिम’ कठोर हिन्दु जातीय शासनको तल्लो तहमा रहेका दलितहरूमाथि गर्ने दमनका कथामा आधारित छ। यो फिल्ममा ठूला जातका व्यक्तिले दलितलाई गर्ने व्यवहार र अन्यायको चित्रण गर्छ।
यस फिल्ममा सूर्याले न्यायाधीश चन्द्रुको भूमिका निर्वाह गरेका छन् । जस्टिश चन्द्रुको नामले चिनिने चन्द्रुले कसरी तमिलनाडुमा अन्यायमा परेको दलित परिवारलाई न्याय दिलाउन संघर्ष गर्नु परेको थियो, फिल्मले यही विषयलाई प्रस्तुत गरेको छ । अस्करमा समेटिएको भिडियो कुल १२ मिनेट ४७ सेकेन्डको छ ।
प्रतिक्रिया