फेरि डामाडोल रिलिज क्यालेन्डर
कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि नेपाल सरकारले आगामी माघ १५ गतेदेखि सिनेमाहलहरु फेरी बन्द गर्ने भएको छ । भाइरस संक्रमणका कारण यो भन्दा पहिले नै २ पटकसम्म सिनेमा हलहरु बन्द भइसकेका छन् ।
यसअघि कोरोना सङ्क्रमण घटेसँगै फिल्म क्षेत्र चलायमान हुन थालेको थियो तर अहिले फेरि पुनः सङ्क्रमितको सङ्ख्या दैनिकरुपमा बढ्दो छ । यसको असर फिल्म क्षेत्रले पनि भोग्नु परेको छ ।
दुई वर्षदेखि बन्द रहेको सिनेमा हलको शून्यता तोड्न गत वर्ष माघमा ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आएको थियो । त्यतिबेला यो फिल्मले गरेको साहसको चौतर्फी प्रशंसा पनि भयो ।
भारतमा समेत अत्यन्त सफल मानिएको ‘सूर्यवंशी यस्तै हलिउड फिल्म ‘स्पाइडरम्यान: नो वे होम’ले पनि बन्दाबन्दीका कारण शून्य रहेको नेपाल फिल्मी बजारलाई राम्रै प्रभाव जमाउन सफल भयो । यस्तैमा दर्शक हलमा फर्किन थाले भनेर नेपाली फिल्मको प्रदर्शन मिति धमाधम घोषणा हुदै थियो ।
यसरी मिति घोषणा गरिएका फिल्ममध्ये निर्माता-निर्देशक सन्तोष सेनको ‘प्रेम गीत ३’ पनि एक हो । ठूलो लगानीमा निर्माण भएको यस फिल्मलाई हिन्दीलगायत भारतका अन्य भाषाको संस्करणमा समेत एकसाथ प्रदर्शनमा ल्याउने तयारी भइरहेको थियो ।
त्यसका लागि आगामी फागुन १३ गते प्रदर्शन गर्ने तय गरिएको थियो तर अचानक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका कारण सिनेमा हल बन्द हुन थालेपछि भारत र नेपालमा एकसाथ प्रदर्शन गर्ने योजना बनाइएको ‘प्रेम गीत ३’को प्रदर्शन मिति स्थगित गरिएको छ ।
केही समययता भारतमा पनि हिन्दी डबिङ गरिएका ‘पुष्पा’ र ‘जय भीम’जस्ता दक्षिण भारतीय भाषाका फिल्मले राम्रो व्यापार गरेका कारण फिल्म व्यवसायीमा ठूलो उत्साहको सञ्चार भएको थियो ।
‘बाहुबली’जस्तो फिल्म बनाएका एसएस राजामौलीको फिल्म ‘आर आर आर’ले यो उत्साहलाई अझ व्यापक बनाउने आशा गरिएको थियो तर कोरोना सङ्क्रमणका कारण भारतको फिल्मको ठूलो बजार मानिने महाराष्ट्रलगायत राज्यहरूमा सिनेमा हल बन्द गरिदिएपछि सन् २०२२ जनवरी ७ अर्थात् २०७८ पुस २३ गतेदेखि प्रदर्शनमा आउने भनिएको ठूलो लगानीको फिल्म ‘आर आर आर’को प्रदर्शन स्थागित गरियो ।
यसरी अचानक भारतीय फिल्म सिनेमा हलमा प्रदर्शन नहुने भएपछि नेपालमा पनि नेपाली फिल्मरको प्रदर्शन मा अन्योल सिर्जना भएको छ । यसैक्रममा ‘प्रेम गीत ३’को प्रदर्शन स्थगित गरिएको हो ।
माघ १९ गते प्रदर्शन हुने भनिएको ‘म यस्तो गीत गाउँछु ३’, चैत ४ गते प्रदर्शनका लागि मिति तय भएको ‘चिसो एस्ट्रे’, चैत १८ गते प्रदर्शन हुने ‘पासो’ अनि फागुन २७ गते प्रदर्शन हुने भनिएको ‘आकासे खेती’, २०७९ वैशाख ३० गते प्रदर्शन हुने ‘चिसो मान्छे’को प्रदर्शन अन्योल भएको छ ।
यस्तै ‘विच्छेद’, ‘माइकल अधिकारी’ सन्तोष पन्तको फिल्म ‘हिजोआजका कुरा’, शिवहरि पौड्यालको ‘लक्का जवान’, अभिनेत्री झरना थापाको निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर ४’लगायत फिल्मको प्रदर्शन कहिले हुने भन्ने अन्योल भएको छ ।
बल्ल बल्ल खुलेको हलहरु फेरी बन्द हुने भएकोले फिल्मकर्मीहरु निराश भएका छन् । ‘चपली हाइट ३’ फिल्म यही साता शुक्रबारबाट प्रदर्शन मिति तोकिएको थियो । बन्दको चपेटामा यो फिल्म परेको छ ।
प्रतिक्रिया