सुनौलो स्वरका धनी गायक कुमार सुब्बाको निधन
सदा बहार स्वरका धनी प्रख्यात् गायक कुमार सुब्बाको निधन भएको छ ।
सारङ्गीको तालले मेरो, मेरो सानो मुरली, हे फूल चुडेर लाने, सम्हालूँ कसरीजस्ता पाँच सयभन्दा बढी चर्चित र मर्मस्पर्शी गीतका सर्जक दार्जिलिङका वरिष्ठ गायक कुमार सुब्बाको शनिबार राति १० बजे सिलिगुडीमा निधन भएको छ ।
७० वर्षका सुब्बा शनिबार बिहान अचानक हृदयघात भएपछि सिलिगुडीको न्यूटिया अस्पतालमा उपचारार्थ भर्ना गरिएको र उपचारकै क्रममा निधन भएको छोरी निरन्जना सुब्बाले जनाएकी छन् ।
नेपाली मूलका भारतीय गायक गम्भीर स्वास्थ्य अवस्थासँग संघर्ष गरिरहेका कुमार सुब्बाको सिलिगुडीमा उपचार भइरहेको थियो। उनको मुटु र मृर्गौलामा समस्या देखिएको थियो । सिलिगुडी नजिक शिवमन्दिरस्थित छोरीको घरमा उनी बस्थे ।
दार्जिलिङ घर भएका सुब्बा पछिल्लो समय सिलुगुडीमा बसोबास गर्दै आएका थिए । सुब्बा लामो समय दार्जिलिङको सांस्कृतिक विभागका जागिरे पनि थिए । अघिल्लो पटक बिरामी परेपछि उनी जागिरबाट सेवा निवृत्त भएका थिए । गोपाल योञ्जन र कर्म योञ्जनका समकालीन गायक समेत रहेका सुब्बाले ‘देउरालीका ठिटीहरू नक्कल पार्नु पर्दैन’, ‘सारंगीको तालले मेरो मनको गीत गाउँछ,’ जस्ता लोकप्रिय गीत गाएका छन्।
सन् १९६८ देखि सुब्बाले आकाशवाणी खर्साङमा काम गरेका थिए । उनले थुप्रै महिलासँग सहगायन पनि गरेका छन् । दिलमाया, अरूणा लामा, डेजी बराइली, हीरा रसाइली, सङ्गीता सुब्बा, दावा ग्याल्मो आदिसँग पनि गाएका छन् । कर्म योञ्जनसँग पनि उनले गाएका छन् ।
करिब १२ वर्षअघि ‘पलेटी’ कार्यक्रमको एक गायनका लागि उनी नेपाल आएका थिए । त्यसबेला आफ्ना सहकर्मीहरू अमर गुरुङ, मञ्जुल, मानबहादुर मुखिया, प्रकाश गुरुङलगायतसंग उनको भेट भएको थियो ।
मेरो सानो मुरलीमा मेरो देश नआँट्ला
तर मेरो मुरलीले भाका राखूँ भन्छ…
(शब्द: कवि मञ्जुल, सङ्गीतः कर्म योञ्जन, स्वर: कुमार सुब्बा)
हे फूल चुँड़ेर लाने हो, यहाँ माली रोएको देख्यौ के
खुशी मिलन मनाउने हो, यहाँ बिछोड़ भएको देख्यौ के….
(शब्द : मनबहादुर मुखिया, सङ्गीतः कर्म योञ्जन, स्वर : कुमार सुब्बा)
सारङ्गीको तारले मेरो मनको गीत गाउँछ
लेकदेखि बेंसीसम्म गाइने मीत लाउँछ…
(शब्द: मनबहादुर मुखिया, सङ्गीतः कर्म योञ्जन, स्वर: कुमार सुब्बा)
प्रतिक्रिया