इन्डीयन आइडल ‘पवनदीप राजन’ ठमेलको एलओडीमा आउँदै

इन्डीयन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन् ।

आगामी माघ १ गते ठमेलस्थित ‘एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन्।

पवनदीप काठमाडौँको मेलस्थित ‘एलओडी’ क्लबका पारखीलाई गीत गाएर चिसिएको काठमाडौँलाई नचाएर तताउन नेपाल आउने भएका हुन् । नयाँ वर्षको सुरुवातीमा विदेशी कलाकार ल्याएर पवनका फ्यानलाई नचाएर मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएका छन् ।

पनवदीप इन्डीयन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिष्पर्धामा अरुणिता कांजीलाल दोस्रो बनेकी थिइन् । अंग्रेजी नयाँ वर्ष लागेसँगै नेपालमा विदेशी कलाकार आउने क्रम बढेको छ । क्लबका निर्देशक रविन श्रेष्ठले अंग्रेजी वर्षको सुरुवातीमा इन्डियन आइडल पवनदीप ल्याएर नेपाली दर्शकलाई मनोरञ्जन दिन लागिएको जानकारी दिए।

‘अंग्रेजी नयाँ वर्ष २०२२ लागे यता नेपालमा पहिलोपटक विदेशी कलाकार ल्याउन लागेका छौ,’ उनले भने,’ कोभिडले थलिएको ठमेललाई सांगितिक माहोलले तताएर भए पनि उर्जा दिने छौ ।’

बाह्य पर्यटकको आगमन नभए पनि आन्तरिक पर्यटकले ठमेल धानिरहेको भन्दै उनले पछिल्लो मुलुकमा निषेधाज्ञा खुकुलो भएपछि रात्रिकालीन समयमा रमाउने मानिसहरुको भीड बढ्दै गइरहेको दाबी गरे।

कोभिड संक्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौतीपूर्ण रहेको श्रेष्ठको भनाइ छ । जनस्वास्थ्यको मापदण्ड अपनाएर भए पनि सांगितिक कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए । ‘कोभिडविरुद्धको खोप लगाएर आउन हुन सबैलाई अनुरोध गरिन्छ,’ उनले थपे,’ अहिले पनि क्लब भित्र प्रवेश गर्ने सबैलाई मास्क अनिवार्य गरिएको छ ।’

यसअघि एलओडीमा बलिवुड तथा हलिवुडका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिवुडका नेहा कक्कर र अर्मन मल्लिक आफ्नो शो गरिसकेका छन् । त्यसैगरी स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका विदेशी कलाकारले प्रस्तुती दिइसकेका छन् ।