चोरीको आरोपपछि युट्युबबाट हटाइयो ‘हे दैव’ बोलको गीत

मेलिना राई र किरण गजमेरको स्वरमा रहेको ‘हे दैव’ बोलको गीत युट्युबबाट हटाइएको छ ।

मेलिना र किरणको स्वर रहेको यो सोमबार सार्वजनिक गरिएको थियो तर चोरीको आरोप लागेपछि गीत बुधबार युट्युबबाट हटाइएको छ ।

रमेश एमके पौडेलको रचना तथा सुवास भुषालको संगीत भनिएको उक्त गीतको सुरुको हरफ नै आफ्नो रचनाबाट चोरी गरिएको गीतकार तथा सञ्चारकर्मी भुपेन्द्र खड्काले दाबी गरेपछि उक्त गीत अहिले हटाइएको छ ।

खड्काले गीतको शुरुको हरफ नै आफ्नो रचना रहेको गीत ‘भेटिएर छुट्नुभन्दा’बाट हुबहु चोरिएको बताएका छन् । गीतकार खड्काको रचना तथा गायक कर्ण दासको स्वरमा रहेको ‘भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो, हामीबीचको सम्बन्ध यो अझै कति माथि हुन्थ्यो’ बोलको गीतबाट अनुमतिबिना नै सिधै चोरी गरिएको खड्काको आरोप छ ।

खड्काका अनुसार उक्त गीत २०६१ सालमा रेकर्ड भएर २०६२ सालमा सार्वजनिक भएको गायक एवं संगीतकार कर्णदासको एल्बम ‘आधा सपना’मा समावेश गीत हो । गीतमा कर्णदासको संगीत तथा स्वर रहेको छ ।

गीतकार खड्काले सो गीतले आफूलाई नेपाली गीति लेखनमा पहिचान, सम्मान र स्थापित हुन मद्दत गरेको बताएका छन् । उनले गीतकार सम्पर्कमा नआएपछि मध्यस्थकर्तासँगको कुराकानीपछि युट्युबबाट गीत हटाइएको जानकारी दिएका छन् ।

खड्काले आउँदा दिनमा फेरि यस्तै स्वरूपमा आफ्ना अडियो, भिडियो वा अन्य कुनै फर्म्याटमा कतै सार्वजनिक भएमा रचनाकार, संगीतकार तथा गायक-गायिकाविरुद्ध नै आफू कानूनी उपचारमा जाने समेत चेतावनी दिएका छन् ।

गीतकार खड्का प्रतिलिपि अधिकारका क्षेत्रमा स्रस्टाको बौद्धिक अधिकारको संरक्षणमा काम गर्ने संस्था ‘संगीत रोयल्टी संकलन समाज नेपाल’मा चार वर्ष महासचिव भएर काम गरेका थिए । आफूले यूरोपका ११ मुलुक र अफ्रिकाका विभिन्न देशमा भ्रमण गर्ने र बौद्धिक अधिकारको अभ्यासका बारेमा जानकारी लिने सौभाग्य प्राप्त गरेको बताउँदै उनले भनेका छन्, ‘त्यसैले म भन्छु, कसैले पनि कसैका गीत जानीजानी नचोरौं, अन्जानमा कतै मिल्न गए गल्ती सुधारौं । मेरो गीत कसैले चोर्नु भनेको मेरो नामको घर–जग्गा मलाई थाहै नदिई कसैले आफ्नो नाममा पास गर्नु जस्तै हो ।’