जितु नेपाल र उमेश राईको सम्बन्ध चिसिएको प्रस्ट, फेरी फरक-फरक सुरुवात गर्दे

नेपाल टेलिभिजनबाट केही समय अघिसम्म प्रसारण भएको र चर्चा कमाउन सफल कार्यक्रम हो ‘मुन्द्रेको कमेडी क्लब’ । तर, यो कार्यक्रम अहिले बन्द छ ।

‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुनाको पछाडि उक्त शोका प्रमुख पात्र मध्येका एक उमेश राई अर्थात ‘फुलन्देको आमा’ भएको चर्चासमेत चलेको थियो । कार्यक्रमका विषयमा देखिएको विवाद केही समय अघिसम्म सामाजिक सञ्जाल र समाचारमा छाइरहेका थिए ।

शोका सञ्चालक जितु नेपालले पत्रकार सम्मेलन आयोजना गरेर नै राईले बिना जानकारी शो छाडेको बताए। दुवैको वाकयुद्ध केहि समय सञ्चारमाध्यमहरुमा देखिएको थियो । यतिबेला उमेश ‘डान्स च्याम्पियन’ को होस्टको रुपमा रहेका छन्। डान्स च्याम्पियन पनि मुन्द्रेको कमेडी क्लब निर्माण गरेको कम्पनीले बनाएको हो ।

जितु फेरि मुन्द्रेको कमेडी क्लब संचालनको तयारीमा रहँदा फुलन्देको आमा भने अर्को शोसंग पनि जोडिन पुगेका छन् ।

‘मुन्द्रेको कमेडी क्लब’लाई नयाँ स्वरुपमा दर्शकमाझ आउने तयारीमा रहेका छन् जीतु नेपाल । तर यो शो कुन टेलिभिजनबाट प्रसारण गर्ने भन्ने विषयमा अन्तिम छलफलमा रहेको बताइन्छ ।

उक्त कार्यक्रमको घोषणा समारोहमा फुलन्देको आमालाई मुन्द्रेको कमेडी क्लबको नयाँ स्वरूप र यसको उपस्थितिको बारेको सोधिएको थियो । उनले आफूलाई उक्त शोको बारेमा जानकारी नभएको र कुनै सम्पर्क समेत नभएको बताएका छन् ।

‘फुलन्देको आमा’को भूमिकामा देखिएर चर्चामा आएका उमेश अहिले ‘डान्स च्याम्पियनसिप’ नामक रियालिटी शोको होस्ट हुन् । तर, यो शोले दर्शकको अपेक्षाकृत साथ भने पाएको छैन ।

यसैबीच, उमेश अब नयाँ कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा काम गर्दैछन् । यो शोमा काम गर्ने तयारीमा रहेका उमेशलाई ‘मुन्द्रेको कमेडी क्लब’ नयाँ स्वरुपमा आउन लागेको विषयमा केही पनि जानकारी छैन । उनले सञ्चारकर्मीहरुसँग भने, ‘मलाई अहिलेसम्म यो विषयमा कुनै पनि खबर आएको छैन । खबर आएको त राम्रो हो नि ।’

‘मुन्द्रेको कमेडी क्लब’लाई आफूले कहिल्यै पनि ‘बाईबाई’ नगर्ने बताएका उमेशले आफ्नो कारणले शो बन्द भएको कुरालाई पनि उनले अस्वीकार गरे । यसबाट पनि जितु र उनको सम्बन्ध चिसिएको प्रस्ट हुन्छ ।