रिलिज अगाडि नै विवादमा मुछियो फिल्म ‘पृथ्वीराज’

बलिउड अभिनेता अक्षयकुमार र पूर्व मिस वल्र्ड मानुषी छिल्लर अभिनित फिल्म रिलिज अगाडि नै विवादमा फसेको छ । फिल्ममा पृथ्वीराजलाई राजपुत देखाइएका कारण विवाद उत्पन्न भएको हो । राजस्थानका गुर्जर समाजका मानिसले फिल्मको रिलिज रोक्ने धम्की दिँदै पृथ्वीराज गुर्जर भएको र फिल्ममा उनलाई राजपुत देखाइएको आरोप लगाएका छन् ।

राजपुत समाजका मानिसले भने गुर्जर समाजको भनाई गलत भएको बताउँदै आएका छन् । फिल्मको बिषयमा यस अगाडि पनि करणी सेनाका मानिसले विरोध जनाएका थिए । फिल्मको टाइटल अधुरो रहेको बिषयमा उनीहरुको बिरोध रहेको थियो । केही विभिन्न समुदायका मानिसले फिल्म परिवर्तन भएन भने रिलिज गर्न नदिने धम्की समेत दिएका छन् ।

‘पृथ्वीराज’ २२ जनवरी २०२२ मा रिलिजको तयारीमा छ । चन्द्रप्रकाश द्विवेदीको निर्देशन रहेको ऐतिहासिक फिल्म विभिन्न समूदायको विवाद र कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण रिलिज सर्ने अनुमान समेत गरिएको छ । फिल्ममा अक्षय र मानुषीको अलवा सञ्जय दत्त, सोनु सुदको पनि मुख्य भूमिका छ ।

पृथ्वीराज गुर्जरो समुदायको भएको र राजपुत नभएको गुजरोको भनाई श्री राजपुत करणी सेनका राष्ट्रिय प्रवक्ता विजेन्द्रसिंह शक्तावतले बताए । उनले भने, ‘गुर्जर सुरुमा गौचर थिए । जो पछि गुज्जर हुँदै गुर्जरमा परवर्तन भए ।’