फिल्म ‘कठपुतली’ को प्रिमियरमा क-कस्ले के-के भने ?

यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको हरर जनरामा निर्मित फिल्म ‘कठपुतली’ को बुधवार कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमियरमा फिल्मकर्मीबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । प्रिमियरमा उपस्थित अधिकांशले कलाकारको अभिनय, निर्देशन, स्क्रिनप्ले, छायांकन, साउन्ड डिजाइन, लाइटिङ, फ्रेमिङ र सम्पादनको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

निर्देशक तथा निर्माता आकाश अधिकारीले फिल्मको स्क्रिनप्लेको प्रशंसा गरे । फिल्म हेरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने- ‘सम्पदा मल्लको लेखन मलाई मन पर्यो । समग्रमा भन्दा फिल्मले बाँधेर राख्छ । नेपाली फिल्म नचलिरहेको अवस्थामा यो फिल्मले बाटो खोल्छ भन्नेमा म विश्वस्त छु । अन्तर्राष्ट्रिय स्तरमा पनि यो फिल्म जान सक्ने सम्भावना देखेको छु ।’

निर्देशक प्रदीप भट्टराईले फिल्मको टेक्निकल पक्षको प्रशंसामा शब्द खर्चिए । उनले भने- ‘नेपाली फिल्म हेर्दा नयाँ अनुभव गरियो । टेक्निकली एकदमै रिच छ फिल्म । साउन्ड, लाइटिङ, प्रोडक्सन, कस्ट्यूम, अभिनयको कुराले फिल्म बलियो छ । फिल्म तर्साउन सफल भएको छ । फिल्ममा महिला सशक्तिकरणको कुरालाई पनि उठाइएको छ, जुन कुरा मलाई असाध्यै मन पर्यो ।’

अभिनेत्री तथा निर्मात्री निशा अधिकारीले फिल्मबाट टेक्निकलका धेरै कुरा सिक्न सकिने बताइन् । इडिटिङ, प्रोडक्सन, लाइटिङ, एक्टिङ र स्टोरीले फिल्म बलियो बनेको उनको भनाई थियो । पहिलो पटक स्वदेशी भूत हेर्न पाएकोमा उनले खुसी व्यक्त गरिन् । त्यस्तै, निर्देशक तथा चर्चित सञ्चारकर्मी डिनेश डिसीले फिल्म समग्रमा राम्रो बनेको र टेक्निकल पक्ष निकै बलियो रहेको बताए ।

प्रिमियरमा बोल्ड परिहनमा पुगेकी फिल्मकी मुख्य अभिनेत्री उषा रजकले वर्षौंको मेहनतले यत्तिको प्रोडक्ट बनेको बताउँदै फिल्म हेर्दा आफू इमोसनल भएको बताइन् । उनले भनिन्, ‘फिल्मको छायांकन भइरहँँदा मेरो छोरी ९ वर्षकी थिइन् । उनलाई आफन्तकोमा छोडेर पाल्पा जाँदाको सम्झना फिल्म हेर्दा झलझली आयो । म आफैंलाई भने फिल्म राम्रो लाग्यो ।’

अभिनेत्रीद्वय गौरी मल्ल र शिल्पा मास्केले फिल्ममा आफ्नो भूमिकाबाट सन्तुष्ट रहेको बताएका थिए । जितु नेपालले उद्घोषण गरेको प्रिमियर शोमा राजनेता रविन्द्र मिश्र, नाट्यकर्मी अशेष मल्ल, पत्रकार टिकाराम यात्री, गायकद्वय सत्य-स्वरुप, कलाकार सन्दिप क्षेत्री, निर्देशक सुदर्शन थापा, लेखक प्रदीप भारद्वाज, नायिका बेनिशा हमाल, नायक निराजन प्रधान, निर्माता अर्जुन कुमार लगायतको उपस्थिति रहेको थियो ।

फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । फिल्म मिथिला शर्मा, कर्मा र उषामाथि केन्द्रित छ । पिताको गलत निर्णयले ढल्ने अवस्थामा पुगेको राजतन्त्रलाई जोगाउन निस्किएको राजकुमारको जीवनमा आउने विभिन्न घटनाक्रमलाई देखाइएको फिल्ममा मिथिला शर्माको अभिनय बुलन्द छ । कर्मा र उषाले पनि जीवन्त अभिनय गरेका छन् । त्यस्तै, गौरी मल्ल र शिल्पा मास्केले पनि फिल्ममा आफ्नो प्रभाव छाडेका छन् ।

फिल्मको अर्को सबैभन्दा बलियो पक्ष भनेको ब्याकग्राउन्ड स्कोर हो । स्तरीय ब्याकग्राउन्ड स्कोरले फिल्ममा प्राण भरेको छ । अष्ट्रेलियाका छायाँकार जोएल फ्रूमको छायांकन पनि प्रशंसायोग्य छ । त्यस्तै, लाइटिङ, फ्रेमिङ र इडिटिङले फिल्मको कथालाई मर्न दिएको छैन । पहिलो पटक फिचर फिल्मको निर्देशन गरेका भिमसेन लामाले आफ्नो निर्देशकिय क्षमता प्रस्तुत गरेका छन् ।

सुवर्ण थापा, ध्रुव कोइरालाको पनि अभिनय रहेको फिल्मलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् । फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई बुधवार साँझबाटै काठमाडौं र मोफसलका मल्टीप्लेक्सहरुले शोज उपलब्ध गराइसकेका छन् । दुइवटा ट्रेलरले फिल्मको हाइप बनाइसकेको छ ।