आगामी पुष ११ गतेबाट फिल्म ‘म’ को छायांकन हुने

विगत लामो समयदेखि फिल्म सम्बन्धि अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गर्न लागेको फिल्म ‘म’ को शुभ साइत गरिएको छ । सोमवार एकेडेमीकै परिसरमा फिल्मको शुभ साइत गर्दै आगामी पुष ११ गतेबाट छायांकन सुरु हुने जानकारी गराइयो । फिल्मको २ वर्ष अगाडि निर्माण घोषणा गरिएको भए पनि कोरोनाका कारण छायांकन सुरु हुन सकेको थिएन ।

समिक्षात्मक रुपमा सफल फिल्म ‘सुनगाभा’ का निर्देशक सुर्वण थापाले ‘म’ को निर्देशन गर्नेछन् । फिल्मको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीले लेखेका हुन् । यस फिल्ममा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली र पुनम श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

त्यस्तै, फिल्ममा बनिष शाहको सम्पादन, तेन्जिन पाल्देनको छायांकन र सुजन परियारको कस्टुम डिजाइन रहनेछ । पदम पुरी सह निर्माता र विमला हुँमागाइँ निर्माता रहेको फिल्मको प्रोडक्सन म्यानेजर करन सिंह हुन् । निर्देशक सुवर्ण थापाले फिल्मले आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने जानकारी दिए । फिल्मको कथा अत्यन्त बलियो रहेको उनको भनाई छ ।

नायक खनालले फिल्मको नाम ‘म’ भए पनि समाजभित्रको कथा भन्ने बताएका छन् । उनले भने, ‘यो फिल्मले समाजभित्रको कथा भन्छ । फिल्म हेर्दा दर्शकहरुले आफ्नै कथा पाउनुहुनेछ । यसअर्थमा यो फिल्म समाजको ऐना हो ।’ अभिनेत्री लामिछानेले पनि फिल्मको कथा नेपाली समाजभित्रैको रहेको बताएकी छन् । फिल्ममा आफ्नो भूमिका दर्शकले फरक पाउने उनको दाबी छ ।

सविन श्रेष्ठले भने यो फिल्म आफ्नो कमब्याक हुनसक्ने बताए । हलमा आफू अभिनीत फिल्म रिलिज भइरहे पनि ‘म’ मा दर्शकले आफूलाई फरक रुपमा देख्न पाउने उनको भनाई छ । यस्तै, निराजन प्रधान र रुविना थापाले फिल्मको कथावस्तु र आफ्नो चरित्र मन परेकाले काम गर्न लागेको बताए । रुविनाको यो तेस्रो फिल्म हो भने निराजनले यही फिल्मबाट लिड नायकको रुपमा डेब्यू गर्दैछन् ।