घनेन्द्र ओझाको ‘असमान पहाडहरू’ बजारमा

काठमाडौं- नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका घनेन्द्र ओझाको नवीनतम् कविताकृति ‘असमान पहाडहरू’ प्रकाशन भएको छ । समालोचना र पत्रकारितामा समेत सक्रिय ओझाको १२ औँ पुस्तकका रूपमा प्रकाशन भएको यस कवितासंग्रहमा समसामयिक विषयका २१ वटा कविता संगृहीत छन् ।

कृतिभित्रका कवितामा समाजका बेथिति, कुसंस्कार, राजनीतिक अव्यवस्था र अराजकता, सांस्कृतिक विचलन र सामाजिक विखण्डन, मानवीयतामा ह्रास, प्रकृतिप्रेम, सामाजिक, राजनीतिक नेतृत्वमा भइरहेको नैतिक पतन जस्ता विषय समेटिएको छ ।
युवा साहित्यकार एवं समालोचक महेश पौड्यालको लामो र विस्तृत भूमिका रहेको यस कृतिको प्रकाशक कवि स्वयं छन् भने वितरक कन्दरा पब्लिकेसन रहेको छ ।