टिकटक नेपालः रमाइलो गर्नदेखि पैसा कमाउनसम्म प्रयोग, लत बस्यो भने ‘मनोसामाजिक समस्या निम्तिन सक्छ’
दुई वर्षअघिसम्म सुवास केसीलाई लाग्थ्यो- टिकटक चलाउनु समय खेर फाल्नु हो। अहिले टिकटकमा उनका झन्डै ३९ हजार फलोअर छन्। त्यस्तै उनका भिडियोले २३ लाखवटा लाइक बटुलेका छन्। सुवास टिकटकमार्फत् अङ्ग्रेजी भाषा सिकाउँछन्। कहिलेकाहीँ मनोरञ्जनात्मक भिडिओ पनि बनाउने उनका लागि टिकटक आफ्नो व्यवसाय प्रचार गर्ने सशक्त माध्यम बनेको छ।
उनले कोरोनाभाइरसको महामारी चलिरहेको बेला एउटा शैक्षिक परामर्श केन्द्र खोले। छ महिनाअघि सुरु भएको उक्त परामर्श केन्द्रको टिकटक खातालाई हाल दुई लाख ७० हजार जनाभन्दा बढीले पच्छ्याएका छन् भने त्यस खातामा भएका भिडियो ४४ लाख प्रयोगकर्ताले मन पराएका छन्। “ब्रिटिश काउन्सिल, चर्चित प्रेरणात्मक वक्ताहरूलाई समेत टिकटकमा सक्रिय देखेपछि- यस माध्यमको कुशल प्रयोग गर्न सकिन्छ भन्ने महसुस भयो,” सुवास टिकटक प्रयोग गर्नुको कारणबारे सुनाउँछन्।
सुरुमा उनले ‘कसरी असल अभिभावक बन्ने?’ भन्ने विषयमा आफ्नो अनुभव र विचार भएका सामग्री दिन थाले। एकदुईवटा भिडियोमा आएको सकारात्मक प्रतिक्रियाले उनी उत्साहित भए। गुणस्तरीय सामग्रीप्रति मानिसको चासो देखेपछि उनले अङ्ग्रेजी भाषासम्बन्धी आफ्नो ज्ञानलाई नै विभिन्न तरिकाले प्रस्तुत गर्न थालेका हुन्।
“अङ्ग्रेजी पढ्न र सिक्न चाहनेहरूको समूह बनेको छ। हालसालै खोलेको भए पनि हाम्रो कन्सल्टेन्सी खोजीखोजी आउनेहरू हुनुहुन्छ। टिकटककै कारण सिङ्गापुरका प्रहरीदेखि अस्ट्रेलियामा रहेका विद्यार्थीहरू मसँग जोडिएका छन्। उहाँहरूका लागि अनलाइन कक्षा सञ्चालन गर्छु,” उनले एपका कारण भएका फाइदाहरूबारे बताए। सुवासकी श्रीमती अञ्जना केसी टिकटकमा चर्चित नाम हो। गत साता टिकटकमा २० लाख लाइक पुगेपछि उनले केक काटेर खुसी मनाइन्। स्वेच्छा राउत -बीबीसी
–
तर टिकटकमा चर्चित यी दम्पतीले भिडिओ साझा गर्ने उक्त माध्यममा राम्रो अनुभव मात्र सँगालेका छैनन्। केही मानिस त व्यक्तिगत गालीगलौज गर्न थाल्छन्। अभिनय गर्ने अञ्जना र अङ्ग्रेजी सिकाउने सुवासको व्यक्तित्व, क्षमता आदिबारे तुलना गर्छन्, गिज्याउँछन् पनि। “त्यहाँ एकदमै अस्वस्थ प्रतिस्पर्धा हुन्छ। मानिसहरू गाली गर्नकै लागि, नैतिक उत्पीडन दिन नक्कली अकाउन्ट बनाएर प्रतिक्रिया दिइरहेका हुन्छन्,” सुवासले भने,”त्यस्ता प्रतिक्रियाले कति र कस्तो असर गर्छ भन्ने चाहिँ मानिसको सहने क्षमतामा भर पर्छ।”
सार्वजनिक वृत्तमा हरेक खालका मानिसको पहुँच हुने भएकाले कस्ता सोच र प्रवृत्तिको मतलब गर्ने र कस्तालाई बेवास्ता गर्ने भन्ने विषय ध्यान दिनुपर्ने उनको कथन छ। “कि टिकटक नै प्रयोग गर्नु भएन कि त आफूलाई असर गर्ने कुराहरू बेवास्ता गर्नु पर्यो।” तर अञ्जना नकारात्मक प्रतिक्रियाहरूका कारण चाँडै विचलित हुने गरेको सुवासको भनाइ छ। “तत्काल जबाफ दिने वा भेटेसम्म सम्पर्क नम्बर खोजेर चेतावनी समेत दिन्थिन्। तर कतिन्जेल, कति जनालाई जबाफ दिनु? आजभोलि उनले पनि बेवास्ता गर्न थालेकी छन्।”
टिकटकको लतले निम्त्याउने समस्या
मीना ढकाल मनोरञ्जनका लागि टिकटक चलाउँछिन्। केही समयअघि उनले एक भिडिओ सार्वजनिक गरिन् जसमा उनले भनेकी छन्ः “मेरो केही वर्ष अगाडिको अन्तर्वार्तामा छोरीको तस्बिर राखेर टिकटक भिडियो बनेको देखेँ। कृपया जसले ती भिडियो देख्नुहुन्छ रिपोर्ट गरिदिनूस्।” सामाजिक सञ्जालमा निष्क्रिय छोरीको तस्बिर बिनाअनुमति प्रयोग गर्नुले गोपनीयता हनन गरेको उनको भनाइ छ। त्यस्ता भिडियोले छोरीमा मानसिक आघात पर्ने उनको चिन्ता छ।
बीबीसीसँग भनिन्,”मविरुद्ध व्यक्तिगत प्रहार, अश्लील गाली गर्छन्। म त्यस्ता प्रतिक्रियाहरू फिल्टर गर्छु, सहन्छु। तर छोरीको तस्बिर दुरुपयोग गर्नु खेदजनक छ। त्यसले उसलाई मानसिक तनाव दिन्छ।” उनकी १७ वर्षीया छोरी र पारिवारिक घटनाविरुद्ध टिकटक प्रयोगकर्ताले अनावश्यक चासो देखाएको उनको ठहर छ।
विराटनगरकी अश्मिना पोख्रेलले आफूलाई टिकटकको लत बसेको अनुभव सुनाइन्। उक्त एप चलाउन थालेपछि समय निकै खेर महसुस भएको र त्यसपछि अकाउन्ट नै डिलिट गरेको बताइन्। “यो एपले मेरो समय खाइदियो,” उनले भनिन्। अर्की टिकटक प्रयोगकर्ता अन्जी बरालले मानिसमा “भाइरल हुने इच्छा” व्याप्त भएको ठानेकी छन्। “लाइक र भ्यू महत्त्वपूर्ण हुन थालेपछि मान्छेले आफैँलाई नङ्ग्याएको देखेकी छु। भाइरल एकछिनका लागि हो। त्यो सबै गर्नुअघि मान्छेले किन एक पटक पनि सोच्दैन?” उनले भनिन्।
पैसा कमाउन टिकटक
नेपालमा अहिले लाखौँ मानिस टिकटक प्रयोग गर्छन्। धेरै फलोअर भएका केही प्रयोगकर्ताले यसलाई आयआर्जनको स्रोत बनाएका छन्। निश्चित सङ्ख्यामा फलोअर भएका प्रयोगकर्तालाई टिकटकले लाइभ गर्ने र गेम खेल्ने सुविधा दिएको छ। अन्य प्रयोगकर्ताले लाइभका बेला गिफ्ट दिन पाउँछन्। टिकटकमा पाएको गिफ्ट अन्ततः डलरमा रूपान्तरण गर्न मिल्छ। अरूले पैसा कमाएको सुनेर केही प्रयोगकर्ताले त्यसको अनुकरण गर्न खोजेको देखिन्छ। त्यसका लागि कसैकसैले गुणस्तरहीन र सतही सामग्री पोस्ट गर्ने र लाइभमा अस्वाभाविक गतिविधि गर्ने गरेको पाइन्छ। यसलाई समस्याको रूपमा व्याख्या गर्छन् सुवास केसी पनि। उनी स्वयं बेलामौकामा लाइभ बस्ने गर्छन्।
“सीमित समयका लागि ठिकै हो। तर अहिले बिहान ६:३० बजेदेखि राति १२/१ बजेसम्म बस्छन्। एक-दुई जना होइन फेरि आममानिसदेखि यूट्यबर अनि सेलिब्रिटीसम्म त्यहीँ हुन्छन्,” सुवासले भने,”यो प्रयोग स्वस्थ होइन।” उनले र अञ्जनाले पनि लाइभ भिडियोमा आएको गिफ्टमार्फत् केही रकम जम्मा गरेको तर हालसम्म उक्त पैसा ननिकालेको उनको भनाइ छ। “अहिले मानिसले दैनिक लाखौँ कमाइ रहेको साँचो हो। भोलि टिकटकले उक्त सुविधामा रोक लगायो भने लाइभ र पैसाको लत बसेकाहरूको हालत कस्तो होला?” उनी प्रश्न गर्छन्।
स्वास्थ्य र समाजमा कस्तो समस्या
मनोचिकित्सक डा. सरोज ओझा यस्ता सञ्जालहरूको असर कसले, कसरी र कति प्रयोग गर्छ भन्ने कुराले निर्धारित गर्ने बताउँछन्।
“असीमित प्रयोग हुन्छ भने त्यो लत हो र लत एक किसिमको असन्तुलन हो,” ओझाले भने। लतले पारिवारिक, सामाजिक, शैक्षिक गतिविधिहरूमा असर पुर्याउने साथै मनोवैज्ञानिक वृत्ति विकास पनि प्रभावित हुने उनको भनाइ छ।
“टिकटकमा जे चर्चित भयो मानिसहरू त्यसकै पछि लाग्छन्। यस्तो अवस्थामा आफूले देखेको जस्तो नपाउँदा वा सोचेको जति लाइक वा भ्यू नआउँदा मानिसहरू निराश हुन्छन्। नैराश्य बढ्दै जाँदा डिप्रेशन अर्थात् अवसाद हुने सम्भावना बढ्छ,” उनले बताए। मनोरञ्जनको माध्यमलाई गम्भीर रूपमा लिँदा यस्ता समस्याहरू उत्पन्न हुने उनको भनाइ छ। डा. ओझाका अनुसार नकारात्मक सामग्री वा प्रतिक्रियाले मानिसको ध्यान खिच्ने र त्यसका कारण निद्रा बिग्रिने, चिन्ता बढ्ने, दैनिक गतिविधिमा ध्यान केन्द्रित गर्न नसकिने जस्ता मनोसामाजिक समस्या देखिन्छन्।
समाजशास्त्री टीकाराम गौतम टिकटकमा देखिने गतिविधिहरू सामाजिक अभ्यास, चलन र व्यवहारसँग जोडिने तर्क अघि सार्छन्। “आजभोलि जे टिकटक वा अन्य सामाजिक सञ्जालमा देखिन्छ त्यो वास्तविक जीवनमा अनुसरण गर्न खोजेको देखिन्छ। अर्थात् मानिसलाई बाहिरी मनोविज्ञानले निर्देशन गरिरहेको छ,” गौतमले भने।
टिकटकमा हुने चर्चा सबै कुरा हो भन्ने विश्वास बढ्दो भएका कारण मानिसको दैनिक ससाना कामहरू पनि सर्वसाधारण मानिसले रुचाउँछन् या रुचाउँदैनन् भन्ने प्रश्नले निर्धारण गर्न थालेको उनको ठम्याइ छ। “ठिक, बेठिक छुटाउनुको साटो जे देखिएको छ त्यसैलाई यथार्थ मान्छन्। सही र गलत ठम्याउन नसक्दा जस्ता गतिविधि पनि भिडियोमार्फत् सार्वजनिक हुन्छन्,” उनी भन्छन्, “जे देखिन्छ र जे हुन्छ त्यसबीचको तादात्म्य नमिल्दा विरोधाभास सिर्जना हुन्छ र अस्वाभाविक मनोसामाजिक दुर्घटनाहरू हुन्छन्।”
टिकटकले व्यक्तिलाई उपयोगवादी बनाएको उनको कथन छ। राज्यका लागि पनि टिकटकको प्रयोग नयाँ विषय भएको र यसका प्रयोगका लागि कुनै आचारसंहिता नबनेको बताए। “के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने भेद नहुँदा वा टिकटकमा गलत काम गरे के सजाय हुन्छ? भन्ने टुङ्गो नहुँदा दुर्व्यवहार, अपमान वा अपराध प्रोत्साहित गर्ने सामग्रीहरू बनेका छन्,” उनले भने।
के हुन सक्छ समस्याको समाधान
मनोविद् सन्देश ढकाल टिकटकको सीमित प्रयोगलाई समस्या समाधानको उपाय मान्छन्। “निश्चित समयभन्दा बढी प्रयोगका कारण टिकटक प्रयोगकर्ताहरूले आफ्नो उद्देश्य, जिम्मेवारी र उमेरअनुरूप गतिविधिमा बाधा पुग्छ भन्ने कुरामा ध्यान दिनुपर्छ,” उनले भने,”मैले यहाँ आवश्यकताभन्दा बढी समय बिताइरहेको छु भन्ने थाहा हुँदाहुँदै कम वा नियन्त्रण गर्न सकिँदैन भने चाहिँ त्यहाँ समस्या सुरु भइसकेको छ।” टिकटकका कारण केही व्यक्तिले अभिनय, सङ्गीतजस्तै अन्य कला एवं सिर्जनात्मक अवसरहरू पाएका छन्।
तीमध्ये एक हुन् रेश्मा घिमिरे। टिकटकमा उनको अभिनय र नृत्य कला रुचाइएकै कारण म्युजिक भिडियोहरूमा काम गर्ने अवसर पाइन्। उनले हालसम्म १५ वटा साङ्गीतिक भिडियोमा अभिनय गरेकी छन्। “अहिले टिकटकमा धेरै मानिस सक्रिय छन्। तर सिर्जनशीलता शून्य देख्छु। एउटाले जे गरेर चर्चामा आयो अरू सबैले उसैलाई पच्छ्याउँछन्,” उनी केही समयअघि र हालको अवस्था तुलना गर्छिन्। गालीगलौज, आरोपप्रत्यारोप, रमाइलोको नाममा भद्दा ठट्टाका कारण आफू पनि निष्क्रिय हुँदै गएको उनी बताउँछिन्।
पहिले दैनिक पाँचदेखि छ वटा भिडियो हाल्ने उनी अहिले दैनिक एउटा सामग्रीमा सीमित छिन्। “आफ्ना शुभचिन्तकका लागि भए पनि सक्रिय रहनु जिम्मेवारी हो जस्तो लाग्छ। तर देखासिकीका कारण टिकटक सुरुसुरुको जस्तो सिर्जनात्मक छैन,” उनले भनिन्।
प्रतिक्रिया