अमिरा अर्थात् कैदीका शुक्रकीटको अवैध तस्करीबाट जन्मिएका सन्तानको कथा

इजिप्टका निर्देशक मोहमद दियाब निर्देशित फिल्म ‘अमिरा’ले ‘भेनिस फिल्म फेस्टिभल’मा तीन वटा अवार्ड जितेपछि उनी चर्चाको केन्द्रमा छन्। आफ्नो फिल्ममार्फत इजिप्ट समाजको विकृतिविरुद्ध आवाज उठाउने निर्देशक दियाबको पहिलो फिल्म ‘क्यारो ६७८’ ले पनि उनलाई निकै चर्चित बनाएको थियो।

निर्देशक दियाबले अनपेक्षित पटकथामार्फत अमिराको कथा बुनेका छन्। अमिरामा उनले इजरायलको जेलमा बसेका प्यालेस्ट्यानका राजनीतिक बन्दीहरुको शुक्रकिटको अवैध तस्करीलाई विषयवस्तु बनाएका छन्।

जेरुसेलम र गाजापट्टीमा जारी संघर्षको क्रममा २०१२ देखि आजसम्म हजारौं बच्चाहरूको जन्म शुक्राणुको अवैध तस्करीबाट भएको छ। आफ्नै बुवाआमाबाट जन्मिएको मानिएको विश्वासमा परेका ती बच्चाहरू अर्कै अनजान मानिसको शुक्राणुबाट जन्मिन्छन्। रगतको सम्बन्धको परिभाषाका लागि हुने बहस र विदेशीप्रति गरिने भेदभाव र इर्स्याको मुद्दालाई पटकथामा उतारेका छन् दियाबले।

के छ अमिरामा?

इजरायलको जेलमा बन्दी प्यालेस्ट्यानका एक आन्दोलनकारी नुवारको १७ वर्षकी छोरी अमिरालाई बुवाले तस्करी गरेर ल्याएको शुक्राणुबाट जन्मिएको भन्ने थाहा छ। अमिरा आफ्नो आमा वारदासँग बेलाबेला आफ्नो बुवालाई भेट्न जाने गर्छिन् तर ‘फोटोसप’बाट बनाइएको आफ्ना बुवाआमासँगको आफ्नो फोटो हेरेर खुसी भएझैं लागे पनि उनी भित्रैबाट खुसी हुन सक्दिनन्।