पल र पूजाको ‘म यस्तो गीत गाउँछु २’ माघ १९ मा रिलिज

काठमाडौं- कोरोना महामारीको कारणले गर्दा ठप्प भएको फिल्म क्षेत्र केही समयदेखी भने चलायमान हुन थालेको छ । तेस्तै फिल्म ‘म यस्तो गीत गाउँछु २’ले मिति तय गरेको छ । सुदर्शन थापा र नायिका पूजा शर्माको निर्माणमा तयार भएको यो फिल्म माघ १९ मा रिलिज हुने भएको छ । डेढ वर्षअघि महामारीले हल बन्द गर्न बाध्य गर्नुअघि यो फिल्म फागुन ३० मा प्रदर्शन हुन ठिक्क परेको थियो । तर चिनबाट फैलिएको महामारी नेपालसम्म आइपुग्ने आशंकासहित नेपाल भिडभाड नगर्न सूचना जारी गरेसँगै यो फिल्म दर्शकसम्म जान रोकिएको थियो ।

फिल्ममा नायिका पूजा शर्मा, नायक पल शाहको साथमा कलाकारहरु हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतको मुख्य भूमिका छ । फिल्ममा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी छ । शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा रहेको फिल्ममा सुदर्शन थापाको कथा, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ ।

फिल्ममा समावेश ‘तिम्रो घरको वरिपरि’ र ‘दुःखको काँडा’ बोलको गीत सुपरहिट भइसकेको छ । फिल्मको ट्रेलरलाई पनि दर्शकले अत्याधिक मन पराएका छन् । फिल्मको निर्माता भने सुदर्शन थापा र पूजा शर्मा हुन् ।