श्रममन्त्री भन्छन्-न्यून पारिश्रमीक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्छ !

काठमाडौं – बुधबार ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले न्यून पारिश्रमीक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताएका छन् । मन्त्री श्रेष्ठले न्यून पारिश्रमीक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताएका हुन् । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले टिकटक लगायतका सामाजिक सञ्जालहरुले सामाजिक मर्यादा कायम गरेर वैज्ञानिक उत्पादनको प्रयोग गर्नुपर्ने बताए ।

उनले टिकटक शोले टिकटकलाई विकृतिको थलो नभइ सिर्जनात्मक कुराको थलो बनाउने आशा गरेको जनाए । अध्यक्ष दाहालले न्यून पारिश्रमीक भएका कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सहयोग गरिदिन सरकारसँग आग्रह गरेका थिए ।

‘सामाजिक मर्यादालाई कायम गरेर वैज्ञानिक उत्पादनहरु प्रयोग गर्नुपर्दछ । सामाजिक सञ्जालको सही सदुपयोग गर्यौं भने हामी शिष्ट बन्न सक्छौँ । टिकटक स्टारहरूलाई यो विकृति मात्रै होइन, सिर्जना हो भनेर चिनाउने अवसर पनि यही हो, प्रयोगकर्ताहरुले टिकटकले विकृति मात्रै ल्याउँदैन, सिर्जनात्मक कुराहरुलाई पनि उजागर गर्छ भनेर चिनाउनुपर्छ,’ उनले भने । टिकटक स्टार रियालिटी शोमा सहभागी हुनका लागि टिकटकमा अकाउन्ट अनिवार्य हुनुपर्ने नियम बनाइएको छ । त्यस्तै टिकटकको कम्युनिटी गाइडलाइन पालना गरेर १५ सेकेण्डदेखि ३ मिनेटसम्मको भिडियो बनाएर मङ्सिर मसान्तसम्म अडिसन राउण्डमा पेश गर्नुपर्नेछ ।

उनले टिकटक प्रयोगकर्ताले समाजमा ज्ञान प्रवाह गर्ने सकारात्मक कुराहरूको भिडियो बनाउनु पर्ने जनाए । कार्यक्रमले समाजमा टिकटकबारे छरिएका विकृतिलाई उजागर गर्ने आशा आफूले लिएको उनले बताए ।

‘टिकटकलाई समाजले पोजेटिभ रुपले हेरोस्, नकारात्मक कुरा मात्रै होइन, सन्देशमूलक पनि होस् । सँगै विकृतिका कुरालाई उजागर गरोस्, म कलाकार श्रमिकहरुको सामाजिक सुरक्षा कोषमा पनि सहयोग गर्न तयार छु, के गर्नुपर्छ सहयोग हुन्छ,’ मन्त्री श्रेष्ठले भने ।

कार्यक्रमको निर्णायकमा अभिनेत्रीद्वय गौरी मल्ल, वर्षा शिवाकोटी र अभिनेता रमेश उप्रेती रहेका छन् । शोमा उत्कृष्ट १० जनाले क्रमशः कार, मोटरसाइकल, स्कुटर, क्यामेरा, ल्यापटप, टेलिभिजन, सातौँ, आठौँ, नवौँ र दशैँले मोबाइल पाउनेछन् ।