साधना कला केन्द्रका नृत्य निर्देशक मानव बेचविखन आरोपमा पक्राउ

मानव बेचविखनमा संलग्न रहेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–१० बस्ने ५० वर्षीय नृत्य निर्देशक (कोरियोग्राफर) विश्वबन्धु घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । घिमिरेलाई चितवनको क्षेत्रपुरबाट पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी अनुराग कुमार द्धिवेदीले बताए ।

उनले नृत्य सिक्ने क्रममा चिनजान भएकी १९ वर्षीया किशोरीलाई २०७० फागुन ४ मा काठमाडौंबाट भारतको बैंगलोर पुर्याई यौन व्यवसायमा लगाउने गरी बेचबिखन गरेको आरोप लागेको छ।

उनी विगत ३० वर्षदेखि साधना कला केन्द्र लगायतका नृत्य केन्द्रहरुमा नाच प्रशिक्षकको रुपमा काम गर्दै आएका थिए ।

बैंगलौरको चिफ ईन र सेनोरीता भन्ने रेष्टुरेण्टमा किशोरीलाई यौन व्यवसाय गर्न बाध्य पारेपछि उनलाई माइती नेपालले उद्धार गरेर काठमाडौं ल्याएको थियो । कार्तिक ६ मा घिमिरेलाई पक्राउ गरेर काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान जारी रहेको एसपी द्धिवेदीले बताए ।

२०७० फागुन ४ गते काँकडभिट्टा हुँदै भारतको सिलगुढीबाट बैंगलोर पुर्याइएकी किशोरी माइती नेपालको सहयोगमा २०७१ वैशाख १५ गते नेपाल फर्केकी थिइन्। त्यसलगत्तै पीडितको जाहेरीका आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले घिमिरेलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान गरिरहेको छ।