‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले कार्तिक १३ गते पोखरामा

काठमाडौं- नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘दोहोरी रियालिटी शो’ ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले कार्तिक १३ गते पोखरामा हुने भएको छ । आयोजकले ग्राण्ड फिनाले पोखरामा भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिएको हो । ‘दोहोरी च्याम्पियन’मा प्रथमका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको टीम फिनालेमा प्रवेश गरिसकेको छ ।

आउँदो शनिबार बालचन्द्र बराल र शोभा कार्कीको टीमसँग राजेन्द्र पाठक र मीना नेपाल टीमको प्रतिस्पर्धाको नतिजा सार्वजनिक हुनेछ । यसमा विजयी टीमले ग्राण्ड फिनालेमा प्रथमका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको टीमसँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टीमको प्रतिस्पर्धामा एउटा प्रथम र अर्को टीम द्धितीय हुनेछ । अर्को टीमले भने तृतियका लागि सबिन आचार्य र रीता राउतसँग प्रतिस्पर्धा गर्नेछ । दर्शकको भोटिङको आधारमा विजेता घोषित गरिनेछ । ‘दोहोरी च्याम्पियन’लाई लोकदोहोरी क्षेत्रकै ठूलो दोहोरी रियालिटी शो भनिएको छ ।

नेपाल टेलिभिजनको प्रस्तुती रहेको ‘दोहोरी च्याम्पियन’मा निर्णायकका रुपमा लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा छन् ।

लोकदोहोरी गायक बद्री पंगेनी र लोकदोहोरी गायिका प्रिती आले ‘दोहोरी च्याम्पियन’को संचालकको भूमिकामा छन् । शनिबार राती ८:५० बजेबाट नेपाल टेलिभिजनमा ‘दोहोरी च्याम्पियन’ प्रशारण हुँदै आएको छ ।