ओटीटीमा सेन्सरविना बिना फिल्म प्रसारण गर्न नपाइने !

काठमाडौं- ओटीटी तथा आईपीटिभी सेवामाथि सरकारले कुनै पनि चलचित्र तथा विज्ञापन चलचित्र जाँचपास समितिबाट जाँचपास (सेन्सर) गराएर मात्र प्रसारण गर्न निर्देशन दिएको छ । शुक्रबार एक सूचना जारी गर्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले कुनै पनि चलचित्र तथा विज्ञापन जाँचपासविना प्रसारण नगर्न निर्देशन दिएको हो । भिन्न प्रसारण संस्था वा विद्युतीय सञ्चार माध्यम तथा अन्य माध्यमबाट कतिपय चलचित्र, विज्ञापन चलचित्रको जाँचपास गराएर मात्र प्रदर्शन तथा प्रसारण गर्नु मन्त्रालयले सम्बन्धित सबै माध्यमहरूलाई जानकारी गराएको छ । ‘प्रचलित कानून विपरित प्रदर्शन तथा प्रसारण गरे, गराइएको पाइएमा कानून बमोजिम कारबाही भइजाने व्यहोरा समेत सूचित गरिन्छ,’ मन्त्रालयले भनेको छ । चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ मा कुनै पनि चलचित्रको प्रदर्शन गर्नुपूर्व चलचित्र जाँच समितिबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।

‘यस ऐनअन्तर्गतको नियम उल्लघंन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच हजार रुपैयाँसम्म जरिवाना गरी इजाजतपत्र खारेज गर्न सक्ने र निर्माण, प्रदर्शन तथा वितरण गर्दा प्रयोग गरिएका उपकरणहरु समेत जफत गर्न सक्ने समेत व्यवस्था रहेको छ’ सूचनामा भनिएको छ । विभिन्न प्रसारण संस्था वा विद्युतीय सञ्चारमाध्यम वा अन्य माध्यमबाट कतिपय चलचित्र तथा विज्ञापन जाँचपास नगराई प्रदर्शन गर्ने गरेको गुनासो आएको मन्त्रालयले जनाएकाे छ ।नियमावलीमा प्रदर्शकले चलचित्र जाँच समितिबाट अनुमति पाएका चलचित्र मात्र प्रदर्शन गर्नु पर्ने व्यवस्था छ । विज्ञापन तथा चलचित्र जाँच गराउनुपर्ने स्पष्ट कानूनी व्यवस्था भएकाले जाँचपासविना कुनै पनि चलचित्र तथा विज्ञापन प्रसारण नगर्न मन्त्रालयले सूचना जारी गरेको हो ।