मलाई गलत नबनाई दिनु भन्दै सलोनले मागे  राजेशका फ्यानसँग माफी

काठमाडौं- अभिनेता सलोन बस्नेतले राजेश हमालका फ्यानसँग माफी मागेका छन् । उनले आइतबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै उनले राजेश हमाललाई महानायक नमान्नु सचेत मनको निर्णय नभएको भन्दै आफूलाई माफी दिन दर्शकसँग आग्रह गरेका छन् ।  केही दिनअघि सलोनले आफूले खेलेको फिल्म ‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक कार्यक्रममा महानायकको परिभाषा थाहा नभएको प्रतिक्रिया दिएका थिए ।  उनले आफनो अभिव्यक्ति दिँदै आफनो सामाजिक सञ्जाल फेसबुकमा  लेखेका छन् ,‘ माफ गरिदिनुस् नेपाली जनता, समय विडम्बनाको थियो । म अलमलिएका थिएँ र बुझ्न सकिन्न । मेरो हुर्काइ यही ठाउँमा भयो । म तिनै इतिहासका मायामा बढ्दै गएँ । म बुझ्न सक्ने हुनु भन्दा अगाडि नै एक महान् व्यक्तिले ‘नेपालीबाबु’ नामक सिनेमामार्फत सिनेमा संसार बुझाइ दिनुभयो ।
‘कर्म’ नामक सिनेमामा काम गर्दा आफ्नो बुवा हुँदा हुँदै अर्का महान् हस्तिका लागि आफ्नो शिर मुन्डन गरे र उनैले सिनेमाको लागि गरिने त्याग र यसको महत्त्व बुझाए । जीवनमा सबैभन्दा बढी सिनेमा ९कर्णवीर, ठूले, आशीर्वाद, हामी तीन भाइ, अनमोल आदि०, सिनेमा जगतकै सबैभन्दा सफल अग्रज व्यक्तिसँग काम गर्ने मौका पाएँ र उहाँबाट सच्चा नायकका सिप सिक्न पाएँ ।
मेरो पीढीको सबैभन्दा भाग्यमानी कलाकार लाग्थ्यो आफू । मलाई थाहा थिएन, दिन यस्तो आउला जब मैले उहाँहरूमा फरक छुटाउनु पर्नेछ भनेर । मैले सोच्न सकिन्न, सायद यही हडबडाहटमा बोल्न पनि जानिन । मेरो अहम, मेरो गर्व , मेरो धर्म, मेरो कर्म सबै जहाँ सिकेँ, त्यो मुहारलाई  १,  २   र  ३ गरेर छुटाउनु मेरो हैसियत भन्दा धेरै माथिको कुरा लाग्यो ।
शब्द छनोट गलत भयो मेरो तर मनबाट गलत सोचेको छैन । सबैसँग माफी माग्न चाहन्छु मेरो शब्दले असर पर्न गएकोमा । मैँले आजसम्म जीवनमा सिनेमाबाहेक केही सोच्न वा गर्न सकेको छैन । मेरो सत्य यही हो, मलाई गलत नबनाई दिनु ।’गत वर्ष पनि निर्देशक दीपाश्री निरौलाले राजेश हमाललाई महानायक होइन भनेको सुनेपछि फ्यान यसरी नै रिसाएका थिए । उसबेला पनि दीपाश्रीले माफी मागेकी थिइन् ।