बलिउडमा लागुऔषध मुद्दामा को-को मुछिए ?

मुम्बई- बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन लागूऔषध मुद्दामा पक्राउ परेका छन्। गत शनिबार मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा एनसीबी (नार्कोटिक्स कन्ट्रोल ब्युरो) को टोलीले छापा मारेपछि उनीहरुको ड्रग्स पार्टी भंग भएको थियो। जहाँ बलिउड बादशाह शाहरुखका छोरा आर्यन पनि थिए। आर्यनका साथै अन्य सात जनालाई हिरासतमा लिएर एनसीबीले घन्टौं सोधपुछ गरेको थियो।

लागूऔषधका कारण बलिउड सेलिब्रेटी तथा उनका सन्तान पक्राउ परेको यो पहिलो घटना भने होइन। यस्ता केही कलाकार छन्, जसले जेल नै बस्नुपरेको थियो। सन् २०२० मा लागूऔषध सेवनकै कारण अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेको समाचारलाई भारतीय सञ्चारमाध्यमले फलोअप गरिरहेकै छन्। उनको मृत्युपछि कैयौं कलाकार लागुऔषध मुद्दामा मुछिएका थिए। कैयौंलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोले नियन्त्रणमा लिएर सोधपुछसमेत गरेको थियो। त्यसपछि बलिउडका दर्जनौं कलाकारको घरमा एनसीबीले छापा मारेको थियो।

यी हुन् बलिउडमा लागूऔषध मुद्दामा मुछिएका कलाकार र तिनका सन्तान

सारा अली खान – सैफ अली खानकी छोरी हुन् सारा अली खान। उनलाई पनि लागूऔषधको मुद्दामा एनसीबीले सोधपुछ गरेको थियो। मृत्युको केही दिनअगाडि सुशान्त सिंह राजपूतको फार्म हाउसमा सारा अलि खान गएको भिडियो सार्वजनिक भएपछि उनलाई एनसीबीको टोलीले सोधपुछका लागि बोलाएको थियो।

रिया चक्रवर्ती – नायिका रिया चक्रवर्तीले सुशान्त सिंह राजपूतको निधनपछि लागूऔषधका सम्बन्धमा कारागारको सजाय भोग्नुपरेको थियो। चेहेरे, जलेबी, बैंक चोर, हाफ गर्लफ्रेन्ड, मेरे ड्याडकी मारुतीलगायत दर्जन फिल्ममा अभिनय गरेकी रियाले बलिउडका २५ जना लागूऔषध सेवन गर्नेहरुको नाम खुलाएकी थिइन्। जसमा कैयौं चर्चित कलाकार पर्थे। आफूले पनि लागूऔषध सेवन गर्ने गरेको उनले स्वीकारेकी थिइन्।

दीपिका पादुकोण– सुशान्त सिंह राजपूतकै मुद्दामा दीपिका पादुकोणसँग एनसीबीले सोधपुछ गरेको थियो। उनले आफ्नो म्यानेजरसँग व्हाट्स्अपमा ड्रग्ससम्बन्धी कुराकानी गरेको प्रमाण पाइएपछि एनसीबीले सोधपुछ गरेको थियो। ‘ओम शान्ति ओम’ फिल्मबाट शाहरुख खानसँग स्क्रिन सेयर गर्दै बलिउडमा पाइला राखेकी अभिनेत्री दीपिकाले दर्जनौं हिट फिल्म दिएकी छन्।

अरमान कोहली– एनसीबीले सन् २०२० मा अभिनेता अरमान कोहलीको घरबाट कोकिन बरामद गरेको थियो। लागूऔषध बरामदसँगै उनलाई पनि नियन्त्रणमा लिइएको थियो। कोहलीलाई १४ दिनको न्यायिक हिरासतमा अनुसन्धान गरिएको थियो।

भारती सिंह– भारतीय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया पनि लागूऔषध मुद्दामा मुछिएका थिए। उनीहरु कारागारसमेत जानुपरेको थियो। भारतीले बस्दै आएको फ्ल्याटमा एनसीबीले छापा मारेपछि ८६.५ ग्राम गाँजा भेटेको थियो। सोधपुछका क्रममा दुवैले गाँजा सेवन गर्दै आएको स्वीकारेका थिए।

श्रद्धा कपुर– चर्चित खलपात्र तथा शक्ति कपुरकी छोरी अभिनेत्री श्रद्धा कपुरसँग पनि लागूऔषध नियन्त्रण ब्युरोले सोधपुछ गरेको थियो। उनी पनि सुशान्त सिंह राजपूतको मुद्दामा मुछिएकी थिइन्। कपूरले सीबीडी आयल (भाङको बिरुवाको तेल) सेवन गर्दै आएको खुलेको थियो। यो तेलले मानसिक तनाव कम गर्ने गरेको उनले बताएकी थिइन्। यो तेल भारतमा बिक्रीवितरण वैधानिकता दिएको र औषधिकै श्रेणीमा पनि आउँछ।

गौरव दीक्षित– टीभी कलाकार गौरव दीक्षित पनि लागूऔषध सेवन मुद्दामा पक्राउ परेका थिए। एनसीबीले उनको घरमा छापा मार्दा एमडी ड्रग्स र चरस फेला पारेको थियो। २००६ देखि टेलिभिजनमा प्रवेश गरेका थिए।

राकुलप्रीत सिंह– अभिनेत्री राकुलप्रीत सिंह पनि लागूऔषध मुद्दामा मुछिएकी थिइन्। नसीबीले कुनै समय उनीसँग पनि सोधपुछ गरेको थियो। उनी बाहेक एनसीबीले दक्षिण भारतको फिल्म उद्योगमा काम गर्ने कलाकारमाथि सोधपुछ गरेको थियो। सन् २०१७ मा तेलंगानाको आबकारी तथा निषेध विभागले ३० लाख रुपैयाँ पर्ने औषधि बरामद गरेपछि १२ मुद्दा दर्ता पनि गरेको थियो। यस मुद्दामा राकुल प्रितका साथै दक्षिण भारतका सुपर स्टार राणा दग्गुबत्ती र रवि तेजाको नाम पनि सार्वजनिक भएको थियो। – वेब दुनियाँबाट