लागु औषध केसमा शाहरुखका छोरा आर्यन गिरफ्तार

एजेन्सी-बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन खानलाई लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । आर्यनलाई शनिबार साँझ मुम्बईबाट गोवा जाँदै गर्दा पक्राउ गरेर हिरासतमा लिएको थियो । उनीहरूसँग ठुलो मात्रामा लागुऔषध रहेको र प्रहरीले बरामद समेत गरेको छ‚ जसको मूल्य करोडौँ रहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । ड्रग्स पार्टीमा पक्राउ परेका शाहरुख खानका छोरा आर्यनले प्रहरी हिरासतमै रात कटाएका छन् । नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले आइतबार आर्यनसँगै पक्राउ परेका अरबाज मर्चेन्ट तथा मुनमुन धमिचालाई अदालतमा पेश गरेको थियो । र, अदालतले उनीहरुलाई एक दिन एनसिबीको हिरासतमा राख्न आदेश दियो ।

आर्यनका तर्फबाट चर्चित क्रिमिनल लयर सतिश मानसिन्देले मुद्दा लडिरहेका छन् । मानसिन्देले नै रिया चक्रवर्तीको केस पनि हेरेका थिए । शनिबार मुम्बईस्थित एक क्रुजमा एनसिबीले छापा मार्दा आर्यनसहित १३ जना पक्राउ परेका थिए । यस क्रुज जहाजमा ड्रग्स पार्टी चलिरहेको थियो । उक्त जहाज मुम्बईबाट गोआतर्फ जाँदै थियो । पार्टीमा सहभागी हुनेहरुले टिकटबापत ८० हजारदेखि २ लाख भारुसम्म तिरेका थिए । यद्यपी, आफुले कुनै पैसा नतिरेको, ड्रग्स पनि नलिएको र केवल पाहुनाका रुपमा पार्टीमा सहभागी भएको बयान आर्यनले दिएका छन् । आर्यनकाअनुसार यस पार्टीमा उनी आउने प्रचार गरेर अन्य धेरैलाई सहभागी हुन बोलाइएको थियो ।