नायकद्धय भुवन र शिव भन्छन् : गौरी मल्ल हाम्रो ‘महानायिका’

काठमाडौं- आइतबार ‘डाँडाको वर पिपल’ नामक चलचित्रको गीत रिलिज कार्यक्रममा बोल्दै नायकद्धय भुवन केसी र शिव श्रेष्ठले नेपाली चलचित्रको ‘महानायिका’ गौरी मल्ल भएको दाबी गरेका छन् । अभिनयको कसीमा राखेर हेर्ने हो भने गौरी जस्तो सशक्त अभिनेत्री उद्योगले पाउन समय लाग्ने पनि दुवैको टिप्पणी थियो । कार्यक्रममा भुवनले भने–‘नेपाली चलचित्रको वास्तविक ‘महानायिका’ गौरी मल्ल हुन् । मैले यो विवादित कुरा गरेको होइन, म जे बोल्छु सत्य बोल्छु । गौरी मल्ल अभिनयको महानायिका नै हुन् । अझै ८–१० बर्ष त गौरी मल्लको अभिनयको तुलानामा कोही पनि आउँछ जस्तो मलाई लाग्दैन ।’ उनले गौरीको पहिलो फिल्म ‘सन्तान’देखि ‘कन्यादान’ हुँदै थुप्रै फिल्ममा मैले गौरीसँग काम गरेको छु । अहिले त पछिको पिढीमा पनि गौरी जस्तो अभिनयमा डुब्न सक्ने अभिनेत्री देखेको छैन । त्यसैले मेरो लागि गौरी महानायिका हो,’ भुवनको भनाइ थियो ।

यस्तै, नायक शिव श्रेष्ठले गौरी मल्लको अभिनय बलियो भएको बताए । उनले भने–‘आज गौरी मल्लको योगदान हेर्नुहोस् त । महानायिकाको उपाधि यसै दिने होइन ।’ भुवन केसीपछि बोलेका शिव श्रेष्ठले पनि गौरी मल्लको योगदानको चर्चा गर्दै उनलाई महानायिकाका कै रूपमा सम्बोधन गरे ।

‘अभिनयको दृष्टिकोणबाट हेर्ने हो भने गौरी साँच्चिकै महानायिका हो,’ शिवले भुवन केसीको प्रस्तावमा समर्थन जनाउँदै भने, ‘ उहाँ इन्स्टिच्युट हो । उहाँसँग सेटमा मैले सधैं सिकेको छु । आज उहाँको योगदान हेर्नुस् । आज म पत्रकारसँग अनुरोध गर्न चाहान्छु । तपाईंहरु हामीभन्दा अपडेटेड हुनुहुन्छ । सायद तपाईंहरुलाई पनि चित्त बुझ्यो होला गौरीलाई महानायिका भन्दा ।’ भुवन केसीको तारिफमा पनि केही समय खर्चिएका शिव श्रेष्ठले भुवन केसीलाई सुपरस्टार भन्दै उनलाई जादुगरको पनि संज्ञा दिएका थिए । नेपाली चलचित्रमा नायक राजेश हमाललाई ‘महानायक’को उपाधि दिइएको छ । यस्तै, केही समय अगाडि एक संस्थाले नायिका करिश्मा मानन्धरलाई ‘महानायिका’को उपाधि दिएको थियो ।