अक्षय,अजय, सलमानसहित ३८ भारतीय सेलिब्रिटीविरुद्ध मुद्दा

मुम्बई , बलिउडका सुपरस्टार सलमान खान, अक्षय कुमारलगायत ३८ बलिउडकर्मीहरूविरुद्ध मुद्दा दर्ता गरिएको छ । उनीहरूविरुद्ध बलात्कारपीडितको पहिचान खुलाएको आरोपमा मुद्दा दर्ता गरिएको हो । हैदराबादमा डाक्टरको बलात्कार गरी हत्या गरिएको र उनको शव जलाइएको घटनाले मानिसहरुमा आक्रोश पैदा गरेको थियो । सो समयमा बलिउडका सेलिब्रिटीहरुले समेत घटनाको बिरोध गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका थिए ।

बलिउड सेलिब्रिटीहरूले पनि सामाजिक सञ्जालमार्फत दुःख र आक्रोश व्यक्त गरेका थिए । सोही क्रममा बलिउड सेलिब्रिटीहरूले पीडितको पहिचान खुल्ने गरी पोस्ट गरेको भन्दै अहिले उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

नवभारत टाइम्सका अनुसार अभिनेता अजय देवगन, अक्षय कुमार, सलमान खान, अभिनेत्री रकुलप्रित सिंहसहित ३८ भारतीय सेलिब्रिटीहरूमाथि उक्त आरोप लागेको छ । साउथ कलाकारहरूको नाम पनि त्यसमा मुछिएको छ ।

दिल्लीका वकिल गौरव गुलाटीले उनीहरूविरुद्ध मुद्दा दर्ता गराएका हुन् । आफ्नो उजुरीमा उनले भनेका छन्, “अरूका लागि उदाहरण बन्नुपर्नेमा भारतीय सेलिब्रिटीहरू नियम तोड्दै पीडितको पहिचान उजागर गरिरहेका छन् ।” उनले आफ्नो उजुरीमा यी कलाकारहरूलाई तुरुन्त पक्रिनुपर्ने पनि माग गरेका छन् ।