विद्यार्थीले बनाएको ‘जुनको’ संसारकै उत्कृष्ट २२ सर्ट फिल्मको सूचीमा

एभरेष्ट फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीले निर्माण गरेको सर्ट फिल्म ‘जुनको’ ४४ औं ड्रामा इन्टरनेशनल सर्ट फिल्म फेस्टिभलको उत्कृष्ट २२ चलचित्रमा परेको छ । यो फेस्टिभलका लागि संसारभरका सयौं चलचित्रकर्मीले आफ्ना सर्ट फिल्म प्रतिस्पर्धामा सहभागी गराएका थिए ।
ग्रिसमा आयोजित उक्त फेस्टिभलमा ‘जुनको’ छनोट भएपछि उक्त चलचित्रका निर्देशक तथा लेखक मिन्सो लिम्बुले खुसी ब्यक्त गरेका छन् ।

यो चलचित्रमा गरिमा सिंह पेला, सरिता गिरी र सुवासले अभिनय गरेका छन् । जुनकोलाई नीरज भुसालले खिचेका हुन् । राकेश शाह यसका सहायक क्यामेराम्यान छन् । राजेन्द्र मोक्तानको कलर रहेको चलचत्रिलाई पासाङ देवा सेर्पाले सम्पादन गरेका हुन् ।

उक्त फेस्टिभलमा छनोट भएपछि एभरेष्ट फिल्म एकेडेमीले खुसी ब्यक्त गरेको छ । ‘यो खुसी हाम्रा लागि मात्र होइन समग्र नेपालीका लागिपनि हो’, एकेडेमीका अध्यक्ष सुनील थापाले भने, ‘अझ नेपाली चलचित्रकर्मीका लागि त झनै विशेष खुसीको खबर हो ।’  फेस्टिभल आगामी सेप्टेम्बरको १२ देखि १८ सम्म ग्रिसमा आयोजना हुँदैछ ।