रहिनन् मोडल तथा कलाकार घिमिरे

मोडल तथा कलाकार निशा घिमिरेको उपचारको क्रममा निधन भएको छ । उनको आज साँझ निधन भएको हो । दुर्घटनामा परेर विगत तीन वर्षदेखि ओछ्यान परेकी कलाकार घिमिरेको उपचार नर्भिक अस्पतालले निःशुल्क गर्ने भएको थियो । बुधबार साँझ ६स्५१ बजे उनको उपचारका क्रममा निधन भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

मोडल घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६स्५१ बजे निधन भएको अस्पतालका कर्पोरेट कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्टका प्रमुख सोमनाथ बास्तोलाले जानकारी दिए ।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको बास्तोलाको भनाइ छ । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनको शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् ।

गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार विहानदेखि अवस्था गम्भीर बन्न पुगेको बास्तोलाको भनाइ छ । नर्भिक अस्पतालले घिमिरेलाई गत जेठ २७ गते घरबाट उद्धार गरेर उपचार गरिरहेको थियो ।

उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । उनको सबैखालका विकल्प तथा विधिबाट उपचार गरिएको थियो । लामो समयसम्मको उपचारपछि पनि उनको अवस्था स्थिर नै रहेको थियो ।