फिल्म ‘एक्स ९’ मा औपचारिक रुपमा अनुबन्ध भए पुष्प

नेपालको सबैभन्दा ठूलो एक्सन–थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९’ मा नेपालका महँगा कलाकारलाई भित्राउने क्रम जारी रहेको छ ।

केहि दिन अघि अभिनेता राज कटुवाल , अनमोल केसी,सौगात मल्ल लगायतका अभिनेता भित्राएको यस फिल्मको निर्माण टिमले आइतवार पुष्प खड्कालाई औपचारिक रुपमा कागजी सम्झौताका साथ भित्राएको हो । निर्माण पक्षले जानकारी दिए अनुसार फिल्ममा पुष्प एक्सन भूमिकामा प्रस्तुत हुनेछन् ।

अब यो फिल्ममा नेपालका महँगा र चलेका अभिनेतालाई एक साथ देख्न पाइने भएको छ । साथै अर्का अभिनेता अनुप विक्रम शाहीसँग पनि निर्माण टिमले कागजी सम्झौता गर्दैछ । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुने् फिल्ममा प्रियंका थापा एकल अभिनेत्री रहनेछिन् । राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र गोकुल कुँवर निर्माता रहेको फिल्मलाई नेटफ्लिक्समा पनि रिलिज गर्ने योजनामा निर्माण टिम छ । निर्माण पक्षका अनुसार फिल्मको छायांकन आउँदो पौषको तेस्रो सातादेखि क्यानडा, यूरोप र नेपालमा हुनेछ । यस फिल्मको कथा निर्देशक भट्ट र किंग योगीले तयार पारेका हुन् ।

फिल्म ‘एक्स ९’ मा भिलेनको भूमिकाका लागि बलिउड अभिनेता सोनु सूदलाई भिलेनका रुपमा अफर गरिएको छ । यस अघि अभिनेता सुनिल सेट्टीसँग कुराकानी भएता पनि आर्थिक कुरामा महँगो भएपछि निर्माण टिमले सोनुलाई कुरा राखेको हो । उनीसँग मौखिक सहमती भएको निर्माण टिमले केहि दिन अघि जानकारी दिएका थिए ।