फिल्म हल कहिले खुल्छ ?

नेपाली फिल्म क्षेत्र ठप्प जस्तै छ । केहि फिल्मको छायांकन बाहेक अहिले निर्माता निर्देशक कोही होटल तथा अन्य व्यवसायमा लागेका छन् भने फिल्म हल सञ्चालक अन्योलमा छन् ।

फिल्म हल नचलेको लामो समय हुँदा पनि सरोकारवालाहरुले कुनै चासो दिएका छैनन् । कोरोना बिरुद्धको खोप पनि फिल्मकर्मीले लगाइसकेका छन्। तर, फिल्म हल खुलाउने कुनै पहल गरेका छैनन् । सरकारले फिल्म हल खुल्नका लागि केहि सर्त राखिसकेको छ । उसले कोरोना संक्रमणको दर १५ प्रतिशतमा झरे मात्रै फिल्म हल तथा अन्य कुरा खोल्न दिने बताएको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले यही भदौ १ गतेदेखि लागू गरेको स्मार्ट लकडाउनको कार्यविधिमा कोरोना संक्रमण दर १५ प्रतिशतभन्दा तल झरेपछि स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गर्दै सिनेमा हल खोल्न अनुमति दिने बताएको हो ।

सरकारका अनुसार फिल्म क्षेत्रका साथै फन पार्क, मेला लगायतका मनोरञ्जन क्षेत्र खोल्न सकिने छ । सरकार संक्रमणको अवस्था हेरेर मुलुकलाई रेड, एम्बर, येल्लो र ग्रीन जोनमा विभाजन गर्ने तयारीमा रहेको छ । सरकारले निषेधाज्ञा केहि खुकुलो बनाएसँगै सिरियल फिल्म ‘लाइफ इन एलए’ र ‘आँधी तुफान २’ को छायांकन सकिएको छ । साथै केहि फिल्म छायांकनमा निस्कने तयारीमा रहेका छन् ।