‘रिस्क’ लिँदै ‘एक’

 

कोरोना महामारीसँगै थला परिरहेको नेपाली सिने क्षेत्रमा एउटा नौलो प्रयोगको सुरुवात भएको छ । महामारीका कारण दुई वर्षदेखि सिनेमा हल बन्द छन् । सिने उद्योग नै धरापमा परिरहेको यो अवस्थामा चलचित्र ‘एक’ले भने ‘डिजिटल रिलिज’को प्रयास थालेको छ ।

चलचित्र ‘एक’को डिजिटल (मोसन) पोस्टर मंगलबार ओएसआर डिजिटल नेपालले सार्वजनिक गरेको छ । नेपाली चलचित्र क्षेत्रमा सम्भवत  यो पहिलो नयाँ प्रयोग हो । मनोज पण्डितको निर्देशन रहेको चलचित्र आगामी असोज २१ गते घटस्थापनादेखि डिजिटल प्लेटफर्महरूमार्फत प्रदर्शन हुनेछ ।

यसअघि नै चलिचत्रको ‘तड्का(तड्का’बोलको गीत सार्वजनिक भइसकेको छ । ‘अब हरेक कुराको डिजिटल युग सुरू भइसकेको छ । ‘विश्वका धेरै ठूला सिनेमा उद्योगहरू पनि डिजिटल प्रमोशनमा गइसकेका छन्’ निर्देशक मनोज पण्डित भन्छन् ‘अब नेपाली सिनेमा क्षेत्रमा पनि यसको विकल्प छैन । कसै न कसैले त सुरुवात गर्नैपर्थ्यो । यो रिस्क चलचित्र ‘एक’ मार्फत् हामीले लिएका छौं ।’

खासगरी नेपाली राजनीतिमा हुनै विभिन्न षड्यन्त्र र बाह्य हस्तक्षेपको ‘प्लट’मा बुनिएको चलचित्र ‘एक’को मुख्य भूमिकामा विशाल पोख्रेल छन् । उनले यो सिनेमामा एक गुप्तचरको भूमिका निभाएका छन् । खासगरी राजनीतिमार्फत देशविरुद्ध लाग्नेहरू विरुद्ध उनले गरेको संघर्षको कथा चलचित्र ‘एक’ले बोकेको छ । यो कथा खासगरी मधेस मुद्दामा केन्द्रित छ । तर चलचित्रको छायांकन भने मधेसका फाँटदेखि डोल्पाका हिमाली भेगसम्ममा गरिएको छ ।

गुप्तचर अधिकारीको भूमिकामा देखिएका विशालले चलचित्र एकलाई आफ्नो सिनेमा करिअरको ‘दोस्रो र निकै चुनौतीपूर्ण इनिङ्स्’का रुपमा लिएका छन् । यसअघि ग्रेटर नेपाल, दासढुङ्गा, वधशालाजस्ता चर्चित राजनैतिक सिमानहरू बनाइसकेका निर्देशक पण्डितका अनुसार यो सिनेमा ‘स्पाई थ्रिलर जनर’ हो। ‘एक’ पण्डितको सातौं चलचित्र हो ।

राजनीतिक परिचक्रभित्र घुमेको यो चलचित्र एक्सनले पनि भरिपूर्ण छ । चलचित्रमा एक्सन निर्देशन प्रमोद खड्काले गरेका छन् भने अर्को मुख्य भूमिकामा प्रमोद अग्रहरि पनि छन् । स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा आत्मा गुरागाइँ र सोफिया थापाले निर्माण गरेको चलचित्र ‘एक’मा बालकलाकारको भूमिकामा विश्वंत पोखरेल देखिएका छन् ।